कोरोनाविरुद्धको खोप लगाएकालाई देखिन थाल्यो ‘साइड इफेक्ट’


 



काठमाडौं, माघ १७
नेपालमा कोरोनाभाइरस विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउने अभियान सुरु भएको तीनभित्रै खोपका ‘साइड इफेक्ट’ देखिन थालेको छ ।

कर्णाली प्रदेशमा कोरोनाविरुद्धको खोप लगाएकामध्ये एक जनामा गम्भीरखालको स्वास्थ्य समस्या देखिएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश वीरेन्द्रनगरका निर्देशक डा। रोविन खड्काले बताए ।  त्यहाँ तीन दिनको अवधिमा खोप लगाएकामध्ये २६ जनालाई सामान्य खालको स्वास्थ्य समस्या देखिएको उनको भनाइ छ । 

यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पहिलो दिन खोप लगाएकामध्ये २९ स्वास्थ्यकर्मीसँग सोधपुछ गर्दा २३ जनामा सामान्य खालको स्वास्थ्य समस्या देखिएको डा। अनुप बाँस्तोला बताउँछन् ।

यता त्रिवि शिक्षण अस्पताल टिचिङमा एकजना स्वास्थ्यकर्मीलाई खोप लगाउनेबित्तिकै अनुहारमा डाबर आएको थियो भने केही स्वास्थ्यकर्मीमा सामान्य समस्या देखिएको अस्पतालका फोक्सो रोग विशेषज्ञ डाक्टर सन्तकुमार दासले बताए ।

कोरोनाविरुद्धको खोप लगाइसकेपछि देखिने सामान्य समस्या भनेको डाबर आउने, रिंगटा लाग्ने, वाकवाकी आउने, टाउको दुख्ने, कमजोर भएको महसुस हुने, खोप लगाएको ठाउँमा दुख्ने, सुन्निने आदि रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश वीरेन्द्रनगरका निर्देशक डा। रोबिन खड्काको भनाइ छ । 

खोप लगाएर सामान्य लक्षण देखिएमा आत्तिनु नपर्ने सरुवारोग विशेषज्ञ डा। बाँस्तोला बताउँछन् । उनका अनुसार यस्ता लक्षण देखिएका कतिपयलाई सामान्य उपचार एवं औषधिको प्रयोग गरेमा निको हुने र कतिपयलाई उपचारबिना नै निको हुन्छ । 

स्वास्थ्य सेवा निर्देशनालय कर्णालीका अनुसार खोप लगाउनेबित्तिकै एक जना स्वास्थ्यकर्मीमा केही घण्टासम्म स्वास्थ्यमा गम्भीर समस्या देखिए पनि हाल उपचारपछि उनी सामान्य अवस्थामा फर्किएका छन् ।  

तीन दिनको अवधिमा ७७ जिल्लाका १ सय ६९ खोप केन्द्रहरुबाट ४६ हजारभन्दा बढीले कोरोनाविरुद्धको कोभिशिल्ड खोप लगाएका छन् ।

खोप लगाएका केही व्यक्तिहरूमा सामान्य असरहरू देखिए पनि केही समयपछि आफै निको भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले बताए । 

३ दिनको अवधिमा कसैलाई पनि जटिल समस्या नदेखिएकाले प्राथमिकतामा परेका व्यक्तिलाई ढुक्क भएर कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

कुनै पनि खोप लगाउँदा सामान्य खालका विभिन्न समस्या देखिने सरुवारोग विशेषज्ञ डा। बाँस्तोला बताउँछन् । बच्चाहरुलाई टिटानस, लहरेखोकी, भ्यागुते रोगको खोप लगाउँदा, मौसमी रुघाखोकीको खोप लगाउँदा पनि ज्वरो आउने, सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, टाउको दुख्ने आदि समस्या देखिने उनले बताए ।

उनका अनुसार कहिलेकाहीँ खोपमा भएका विभिन्न तत्वहरुले कसैलाई एलर्जी, श्वासप्रश्वासमा समस्या, ज्वरो आउने आदि समस्या हुन सक्छ । कोरोनाविरुद्धको कोभिशिल्ड खोप धेरै देशका नागरिकले लगाइरहेकाले ढुक्क भएर लगाउन उनले आग्रहसमेत गरे ।

नेपालले प्राप्त गरेको १० लाख खुराक खोपमध्ये पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप दिने निर्णय गरेको हो ।

सरकारले पहिलो चरणमा कोरोनाविरुद्धको खोप ४ लाख ३० हजार जनालाई लगाउने लक्ष्य राखेको छ । तीन दिनको अवधिमा ४६ हजार बढीले खोप लगाएका छन् ।

प्रकाशित मिति: १७ माघ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्