निर्वाचनका लागि बजेट दिन सरकार तयार, कति लाग्ला खर्च ?


 



काठमाडौं, जेठ ८
सरकारले प्रतिनिधिसभा मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोगले काम थालनी गरेको छ ।

पहिलो चरणको निर्वाचन कात्तिक २६ गते र दोस्रो चरणको मंसिर ३ गते तोकिएको छ ।

निर्वाचनको तयारीका सिलसिलामा प्रधानमन्त्री ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित अन्य आयुक्तसँग शनिवार भेटघाट गरेका छन् ।

तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउनका लागि प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त थपलियालाई निर्देशन दिएका छन् ।

निर्वाचनको वातावरण बनाउन र अन्तर्राष्ट्रिय समुदायमा स्वीकारयोग्य बनाउन समेत छलफल भएको छ । कोभिडको महामारी भएको बेला स्वाभाविक रूपले अलि बढी खर्च पनि हुनसक्ने र त्यसका लागि छुट्टै रणनीति बनाएर जानुपर्ने देखिएको प्रमुख आयुक्त थपलियाले बताए ।

निर्वाचन आयोग निर्वाचन गराउनका लागि सधैं तयारी अवस्थामा नै रहने हुनाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउन आयोग सक्षम रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए

निर्वाचन प्रयोजनका लागि सामग्रीहरू खरिद, मतदाता नामावली अद्यावधिक गर्नुपर्ने, मतदान केन्द्र, मतदानस्थललगायतको काम टुंग्याउनुपर्ने हुन्छ ।

निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारी मनोनयनपत्र दर्ता गर्ने, निर्वाचन चिह्न दिने काम, कर्मचारी व्यवस्थापनका काम, मतदाता शिक्षा सम्बन्धी सामग्री तयार गरेर वितरण गर्ने लगायतका प्रमुख कामहरू निर्वाचन आयोगले गर्नुपर्ने हुन्छ ।

यसअघि प्रतिनिधिसभा विघटन गर्दा चुनावको तयारीका लागि ८–९ अर्ब रुपैयाँ खर्च हुनसक्ने अनुमान गरेर तयारी थालिएको थियो ।

तर अहिले कोभिडका कारण स्वाभाविक रूपमा त्योभन्दा बढी पनि खर्च हुने उनले बताए । प्रवक्ता श्रेष्ठले भने, ‘अहिले ९ अर्बभन्दा बढी खर्च हुन सक्छ ।’

उनकाअनुसार यसअघि सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा ७ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको थियो ।

प्रकाशित मिति: ८ जेष्ठ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्