ठाकुर पक्ष सरकारमा नजाने


 


काठमाडौं, साउन ४
जनता समाजवादी पार्टी (जसपा) बाट छुट्टिएर अलग्गै पार्टी दर्ताका लागि निवेदन दिएको महन्थ ठाकुर पक्ष प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ ।

ठाकुर समूहले राष्ट्रिय सभाका एकसहित १५ सांसद लिएर बुधबार जसपा नेपाल (लोकतान्त्रिक) पार्टी दर्ताका लागि निवेदन दिएको छ । पार्टीले सरकारमा नगई मधेसको मुद्दालाई उठाउने नेता सर्वेन्द्रनाथ शुक्लले कान्तिपुरलाई बताए । ‘सरकारलाई हामीले विश्वासको मत दिनुको अर्थ सरकारमै जाने भन्ने होइन, अहिले हामी सरकारमा जाने सम्भावना छैन,’ उनले भने, ‘हाम्रो प्राथमिकता मधेसका मुद्दा हुन् । हामीले अघि सारेका मुद्दालाई सरकारले कसरी हेर्छ, त्यसका आधारमा हामी सरकारमा जाने/नजाने, सरकारलाई समर्थन दिने वा नदिने भन्ने निर्धारण गर्छौं ।’

शरतसिंह भण्डारीसहित केहीले सरकारलाई विश्वासको मत दिइसकेपछि सरकारमा जान ढोका बन्द गर्न नहुने मत पनि उठाएका छन् । तत्कालीन केपी ओली नेतृत्वको सरकारमा सहभागी भएको ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई साउन ३ मा विश्वासको मत दिएको थियो । ठाकुर पक्षलाई सहज हुने गरी नै प्रधानमन्त्री देउवाले पार्टीको केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशत सदस्यबाटै पार्टी विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइदिएका थिए ।
उपेन्द्र यादव नेतृत्वको जसपाले पार्टीको आधिकारिकता पाएपछि ठाकुरपक्षीय नेताहरूको पार्टीगत हैसियत खोसिएको थियो । पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा आफ्ना सदस्यहरू नभएपछि ठाकुर पक्षले संघीय संसद्का १५ सांसदको सहारामा नयाँ पार्टी दर्ताको निवेदन दिएका हुन् ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोग र संसद्मा माधवकुमार नेपाल नेतृत्वको नयाँ राजनीतिक दल दर्ताको प्रक्रिया सम्पन्न हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका छन् । देउवाले बिहीबार मन्त्रिपरिषद् विस्तार र सरकार सञ्चालनकै विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपालसँग छलफल गरेका थिए ।

‘माधव नेपाल नेतृत्वको पार्टीको सनाखत भएकै दिन मन्त्रिपरिषद्लाई पूर्णता दिने समझदारी भएको छ । अहिलेको परिस्थिति धेरै दिन राख्नु हुँदैन भन्ने गठबन्धनका नेताहरूबीच सल्लाह भयो,’ पुष्पकमल दाहालले एक पुस्तक विमोचन कार्यक्रममा भने । यस्तै, कांग्रेस नेता मीन विश्वकर्माले पनि नेपाल नेतृत्वको दल दर्ताको प्रक्रिया पूरा हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति: ४ भाद्र २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्