जनै पूर्णिमा: आफ्नै किसिमको छ यसको महत्त्व



डा. गुरु प्रसाद सुवेदी
साउन ६,
श्रावणी पूर्णिमा साउन महिनाको शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइन्छ । यो वैदिक संस्कारको धेरै महत्त्वपूर्ण मानिने तिथि पनि हो । वैदिक परम्पराका मानिसहरूले ब्रह्म कीर्तन गर्ने, ब्रह्म ज्ञान र ब्रह्म विचार र वेदसँग सम्बन्धित चिन्तन गर्ने व्यक्तिहरूका लागि यो श्रावणी पूर्णिमा ज्यादै नै महत्त्वपूर्ण मानिन्छ ।

प्राचीन परम्परा अनुसार चार वर्णहरू भनेर उल्लेख गरिएको छ । जसमा एउटा वर्गलाई ब्राह्मण वर्ग भनियो । ब्राह्मण वर्ग जो विशेष गरी वेदको अध्ययन गर्ने र शास्त्र चिन्तन गर्ने बौद्धिक कर्म गर्ने समुदाय पनि हो । यो समुदायका लागि यो श्रावणी पूर्णिमा मुख्य पर्वको रूपमा रहेको छ ।

बाहुबलसँग सम्बन्धित काम गर्ने, सैन्य विभाग सम्हाल्ने समुदायका लागि दसैँ अर्थात् विजया दशमी महत्त्वपूर्ण हो । आर्थिक कारोबारसँग सम्बन्धित जिम्मेवार सम्हाल्ने समूहका लागि दीपावली अर्थात् लक्ष्मी पूजा महत्त्वपूर्ण पर्व हो । सेवा कर्मसँग सम्बन्धितका समुदायका मानिसहरूका लागि होली पूर्णिमा महत्त्वपूर्ण पर्व हो । यसरी चार वर्णका लागि यी चाडहरू विशेष रूपमा महत्त्वपूर्ण रहेको छ ।
त्यसैले बौद्धिक कर्म गर्नेहरूका लागि आजको दिन अर्थात् श्रावणी पूर्णिमालाई महत्त्वपूर्ण मान्छन् । जसलाई आज जनै पूर्णिमा, रक्षा बन्धन पर्व भनेर पनि मान्ने गरिन्छ ।

रक्षा बन्धनका पाँच वटा महत्त्वपूर्ण कर्महरू हुन्छन् । एउटा नदीको किनारमा गएर स्नान गरिन्छ । यसलाई श्रावणी स्नान पनि भनिन्छ । यसको नुहाउने विधि पनि हुन्छ । विधिपूर्वक स्नान गर्दा दुबो, कुश, गाईको गोबर, पञ्चगब्यहरु लिएर धेरै किसिमका मन्त्रहरू जपेर स्नान गरिन्छ । त्यो स्नान गर्दा यो जन्ममा जानेर वा नजानेर, पूर्व जन्ममा गरेका कर्महरू संस्कारको रूपमा अहिले हामीमा बसेको हुन्छ । ती संस्कारको रूपमा आएका कर्महरू पुण्य वा पाप जे भए पनि पाप कर्मका संस्कारहरू निवृत्त होस् भनेरै श्रावणी स्नान गरिन्छ ।

दोस्रो पक्ष हो ऋषि तर्पनी । ऋषि तर्पनीमा ऋषि परम्परालाई सम्झेर तर्पन दिइन्छ । हाम्रो परम्परामा बिशेषगरी वेदाध्ययन गर्ने ब्राह्मण वर्गको परम्परामा दुई किसिमको वंश मानिन्छ । एउटा विद्याको वंश अर्को चाहिँ जन्मको वंश । विद्याको वंश परम्परामा आफ्नो गुरुको पनि गुरुहरूको भन्दै जोड्दै लगेर वेदको आधिकर्ता परमात्मासम्म पुर्‍याएर जोड्ने चलन रहेको छ । यसरी विद्याको वंशलाई समेत सम्झेर तर्पण गर्ने विधिलाई श्रावणी तर्पन भनिएको हो । ऋषि परम्पराहरूलाई सम्झने भनेको विश्वमा ज्ञानको ज्योति फैलाउन धेरै नै मेहनत गर्नुभएका ऋषीमुनिहरुलाई सम्झने पनि हो । त्यसैले ऋषिहरूको सम्झनामा दिइने तर्पन भएको कारण यसलाई ऋषि तर्पनी पनि भनिएको हो ।

तेस्रो भनेको जनैको अभिमन्त्रण गर्ने । यज्ञोपवीत अभिमन्त्रण गर्ने । त्यो सँग जोडिएको अर्को ऋषि पूजन पनि हुन्छ । पहिला ऋषि पूजन गरिसकेपछि सप्त ऋषि, जो आज ताराको रूपमा आकाशमा देख्छौ । सात ऋषिको सात तत्त्वको हामीसँग सम्बन्ध रहेको हुन्छ । गोत्र प्रवर्द्धन गर्ने ऋषिहरू हुन्छन् । यी सात ऋषिको विधिपूर्वक पूजा पनि हुन्छ र उनीको श्राद्ध पनि हुन्छ । पहिलो हो स्नान, दोस्रो हो ऋषि तर्पनी, तेस्रो हो ऋषि पूजन र चौथो हो त्यो दिन जनै मन्त्रिने यसलाई यज्ञोपवितामन्त्रण पनि भनिन्छ । यज्ञ र उपपोभित मिलेर यज्ञोपवीत भएको हो । यज्ञोपवीत बिस्तारै अपभ्रंश भएर जनै भनिन थालिएको हो ।

जनै किन लगाइन्छ रु यसको विशेष महत्त्व के छ भने हिन्दुत्व वा वैदिक पहिचानका कार्य गर्ने व्यक्तिहरूको दुई वटा कुराहरू महत्त्वपूर्ण रहेको छ । जनै र टुप्पी । टुप्पी हरेक प्राणीहरूका लागि महत्त्वपूर्ण रहेको छ । अहिले हिन्दुहरूको पहिचान भनेर मान्ने चलन रहेको छ । हिन्दुहरूमा जुनसुकै वर्ग समूहका चाहे त्यो जनै लगाउने वा नलगाउने सबैले टुप्पी पाल्न सक्छन् भन्ने परम्परा पनि हो । त्यो टुप्पी टाउकोको माथि ब्रम्हरन्द्रमा जहाँबाट ज्ञानको चेतनाको सौर्य ऊर्जाको सम्बन्ध जोडिन्छ । त्यो ठाउँमा रौँको झुप्पो पाल्ने विधिलाई टुप्पी राख्ने भनिन्छ । त्यो टुप्पी पनि खुला राख्ने होइन । त्यसलाई बाँध्नु पर्छ भन्ने छ । त्यहाँ शिखा राख्नु पर्ने त्यसलाई बन्धन गर्नुपर्ने हुनाले सौर्य ऊर्जासँग हाम्रो समष्टि ऊर्जा र हाम्रो व्यक्ति ऊर्जालाई जोड्न टुप्पीलाई बाँध्नु पर्ने हुन्छ । यो भनेको हाम्रो शरीरलाई सौर्य ऊर्जासँग जोड्ने विधि थियो ।

जनै चाहिँ यज्ञसँग सम्बन्धित रहेको छ । यज्ञ बौद्धिक बर्गलाई विशेष किसिमको महत्त्व भएको भएर सबै समूहले जनै लगाउनु पर्दैन । अरू सेवा कर्म गर्नेहरूले लगाउनु पर्दैन । अरू सेवा कर्मको जिम्मेवारी निभाउनेहरुले पनि लगाउनु पर्दैन ।

जनै एक किसिमको बन्धन पनि हो । जनै लगाउन किन पाइन्छ किन पाइँदैन भन्दा जुन प्रश्न अहिले उठिरहेको छ । जनैको यर्थात र यसको महिमा नबुझेको कारणले गर्दा नै हो । अहिले जनै धागोमा सीमित भएको कारणले यो अनर्थ हुन गएको हो । जनै यज्ञसँग सम्बन्धित राख्छ । जसले यज्ञ गर्दछन् उनीहरूका लागि मात्र जनै हो ।

यज्ञ भन्ने बित्तिकै हाम्रा वेदका तिन काण्डहरूको कुरा उठ्छ । एउटा कर्मकाण्ड, उपासना काण्ड, ज्ञान काण्ड । वेदमा १ लाख मन्त्रहरू रहेका छन् भने । ८० हजार मन्त्रहरूले कर्म भागको प्रतिपादन गर्दछ भने १६ हजार मन्त्रहरूले उपासना प्रतिपादन गर्दछ । यसले ईश्वर प्रति समर्पण गर्छ भने आफ्नो चित्तबृति निरोध गर्ने प्रक्रिया मानिन्छ ।

वेदले तोकेका कर्महरू आफ्नो वर्ण, धर्म अनुसार लाग्नु पर्ने बताइएको छ । वेदको काण्डलाई कर्म काण्ड भनिन्छ यो ८० हजार मन्त्रको हुन्छ । विचार, ज्ञान चेतनाको प्रकाश फैलाउने ४ हजार मन्त्र रहेका छन् । जसलाई हामी उपनिषद भनेर जान्दछौँ । ४ हजार मन्त्र बाहेक ९६ हजार मन्त्रहरूको सङ्केतलाई हातले नापेर ९६ अङ्गुलको नापेर डोरो बनाइन्छ । त्यसलाई तिन गुणा बनाएर त्यसमा मन्त्र गरेर शिखा बनाइन्छ । त्यो शिखामा पनि ब्रम्हाण्डिय शक्ति, देवी देवताको नाम लिएर मन्त्रणाद्धारा अभिमन्त्रित गरिन्छ । यसलाई यज्ञोपवीत भनिन्छ । यसरी नयाँ जनै लगाउने विशेष महत्त्व रहेको हुन्छ ।

यज्ञ गर्दा जनै चाहिन्छ र यज्ञ गर्ने अधिकार भएकाहरूले जनै छोड्नु हुँदैन । त्यो पनि कहिले देखि भन्दा व्रतबन्ध गरे देखिन् । व्रतबन्ध त्यो पनि ७–८ वर्ष देखि गर्नु भनिएको छ । जातिगत रूपमा कुनै कुनैमा २४ वर्षसम्म पनि गर्ने रहेको छ । ब्राम्हणहरुले १६ वर्ष भित्र संस्कार गरिसक्नु पर्छ भनिएको छ । १६ वर्ष भित्र व्रतबन्धको संस्कार गरिएन भने त्यसपछि जनै लगाएको कुनै अर्थ रहँदैन भनिएको छ ।

जनै लगाउने जिम्मेवारी धारण नगरेका व्यक्तिहरूलाई रक्षा बन्धन हुन्छ । यो पनि जनै बराबरको धागो हो । यो सबैले लगाउन मिल्ने हुनाले यसलाई रक्षा बन्धन भनिएको हो । दिदी बहिनीले दाजुभाइलाई राखी बाँधिदिने चलन तराई तिर देखिन्छ भने पहाड तिर गुरुहरूले बाँधिदिने चलन रहेको छ । यसलाई पनि रक्षा कवच मानिन्छ ।

वेदका ऋषिहरूको सम्झना गर्दै केही वर्ष देखि यसलाई संस्कृत दिवसको रूपमा पनि मनाउँदै आइएको छ । संस्कृत दिवसको रूपमा मनाइनुको अर्को कारणमा वेदका प्रवर्तन ऋषीमुनीहरुको सम्झनामा मनाइने गरिएको हो ।

जनै पूर्णिमा श्रावण महिनामै किन पर्दछ । श्रावण महिनाको पूर्णिमा मै किन गरिन्छ भन्दा श्रावणको महिना भनेको भगवान् शिवको महिना हो । शिवको शिरमा चन्द्रमा हुन्छ चन्द्रमाको सम्बन्ध मन भएको कारण शिवजीलाई मनको देवता पनि मानिन्छ । श्रावण महिनामा तिनै चन्द्रमा पूर्ण भएको बेला पूर्णिमाको दिन परेको कारण श्रावणी पूर्णिमा निकै महत्त्वपूर्ण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News