मोरङमा १० जना स्वास्थ्य बिचौलिया परे प्रहरीको फन्दामा


 


मोरङ, साउन १०
मोरङमा १० जना स्वास्थ्य बिचौलिया प्रहरीको फन्दामा परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको दुहवी–६ का ५४ वर्षीय श्रीराम चौधरी, सिरहा–२ बस्ने २० वर्षीय सुर्यनारायण यादव, मोरङको कटहरी गाउँपालिका–३ बस्ने ४२ वर्षीय मो जलिद, विराटनगर महानगरपालिका बस्ने १८ वर्षीय विश्वास मण्डल, २३ वर्षीय रोशन गुप्ता, १९ वर्षीय सुजित यादव, २२ वर्षीय फिरोज रोय, २१ वर्षीय समिर खान, १८ वर्षीय सरोज खान र १८ वर्षीय अमित यादव रहेका छन् ।

कोशी र नोबल मेडिकल कलेज अगाडिबाट ती बिचौलियाहरुलाई प्रहरीले पक्राउ गरेको हो । नोबल अस्पताल अगाडिबाट ७ र कोशी अस्पताल अघिबाट ३ गरी १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दशन जिसीले जानकारी दिए।

उनका अनुसार अस्पतालमा उपचार गराउन आएका बिरामी तथा बिरामीका आफन्तलाई भेटेर उपचार गरिरहेको अस्पतालबारे अफवाह फैलाई अर्कै अस्पतालमा लगेर कमिसन खाने ती बिचौलियाहरुलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो ।

उनीहरुमाथि अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: १० भाद्र २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्