यस्ताे छ भारतीय राष्ट्रपतिकाे नेपाल कार्यक्रम


 


काठमाडाैं, कार्तिक १४

परराष्ट्र मन्त्रालयले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने राजकीय भ्रमणको औपचारिक तालिका सार्वजनिक गरेको छ । परराष्ट्रले शनिबार विज्ञप्तीमार्फत् भारतीय राष्ट्रपतिको स्वागतदेखि दैनिक कार्यक्रमबारेमा औपचारिक जानकारी दिएको हो ।

विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा नेपाल भ्रमणमा आउन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक भ्रमण कार्तिक १७, १८ र १९ तीन दिन हुने उल्लेख छ ।

भारतीय राष्ट्रपति मुखर्जीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर औपचारिक स्वागत गर्ने कार्यक्रम तय भएको छ । मुखर्जीलाई स्वागत गरेपछि राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति भण्डारीसँग भेटवार्ता हुने र त्यसपछि शीतल निवासमै भारतीय राष्ट्रपतिको सम्मान स्वरूप दिवा भोजको आयोजना गर्ने कार्यक्रम छ ।

राष्ट्रपतिको सम्मानपछि मुखर्जीसँग उपराष्ट्रपति नन्दकिशोर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालले समेत छुट्टा छुट्टै भेट्ने गर्ने छन् । मुखर्जीलाई राजनीतिक दलका अन्य नेताले पनि भेट्ने छन् ।

कात्तिक १७ गते बेलुकी प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति मुखर्जी र उनको भ्रमण टोलीका लागि रात्रिभोजको आयोजना गर्नेछन् । यस्तै, नेपालका लागि भारतीय राजदूत रणजित रायले आयोजना गरेको भोजमा समेत भारतीय राष्ट्रपति मुखर्जी सहभागि हुने तालिका छ ।

मुखर्जी दोस्रो दिन १८ कार्तिको विहान मात्रै पशुपतिनाथ मन्दिरको दर्शन गर्न जाने कार्यक्रम छ । मन्दिरमा मुखर्जीले पूजा गर्ने छन् । दिउँसो मुखर्जी काठमाडौं विश्वविद्यालयले दिन लागेको मानार्थ विद्यावारीधि समारोहमा सरिक हुनेछन् ।

उनले सोही दिन नीति अनुसन्धान प्रतिष्ठान र भारत फाउन्डेसनले आयोजना गर्ने सेमिनारलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ । यसैबीच, भ्रमणको अन्तिम दिन कार्तिक १९ गते मुखर्जी विहान जनकपुरको रामजानकी मन्दिर दर्शन गर्नेछन् ।

जानकी मन्दिरको पूजा अर्चन सकिएपछि मुखर्जी तिरहुतिया गाछीमा जनकपुर उपमहानगरपालिकाले गर्ने नागरिक अभिनन्दन कार्यक्रममा सहभागि हुने छन् । जनकपुरबाट मुखर्जी सोझै पोखरातर्फ लाग्नेछन् ।

मुखर्जी पोखराबाट काठमाडौं फर्केपछि १९ गते बेलुकी नै स्वदेश फर्किने कार्यक्रम छ । यसअघि मुखर्जीले लुम्बिनीको समेत भ्रमण गर्ने भनिएपनि छोटो समय र सुरक्षा प्रबन्धका कारण भ्रमण तालिकामा थपिन सकेन ।

मुखर्जी १८ वर्षपछि नेपाल टेक्ने भारतीय राष्ट्रपति रहनेछन् । सन् १९९८ मा भारतका तत्कालीन राष्ट्रपति केआर नारायणन् नेपाल भ्रमणमा आएका थिए ।

प्रकाशित मिति: १४ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्