आर्थिक हिनामिना आरोपमा कृषि विकास बैंककी शाखा प्रमुख निलम्बित


 


चितवन, कार्तिक ३
सरकारी स्वामित्वको कृषि विकास बैंक लिमिटेडले आर्थिक हिनामिना गरेको आरोपमा चितवनस्थित कृषि बैंकको गुञ्जनगर शाखा प्रमुखलाई निलम्बन गरेको छ । शाखा प्रमुख शोभाकुमारी दत्तलाई १५ दिनअघि निलम्बन गरी बैंकले छानविन गरिरहेको हो ।

ग्राहकलाई ऋण उपलब्ध गराइदिएबापत ग्राहकसँग कमिसन लिने गरेको र गैरकानुनी रूपमा बैंकको पैसा बिनाब्याज ग्राहकलाई सापटी दिने गरेको आरोप शाखा प्रमुख दत्तलाई लागेको छ । छानविनका लागि केन्द्रबाट दुई जना र प्रदेशबाट एक गरी तीन जना कर्मचारी खटिएको बैंकले जनाएको छ ।

शाखा प्रमुख दत्त कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायका डिन जयप्रकाश दत्तकी श्रीमती हुन् । छानविन समितिले गुञ्जनगर शाखामा आएर आवश्यक कागजपत्र लिएर गइसकेको छ । शाखा प्रमुखको जिम्मेवारी बैंकको प्रदेश कार्यालयका कुमार उप्रेतीलाई दिइएको छ ।

लेखापरीक्षण गर्दा कैफियत भेटिएपछि शाखा प्रमुखलाई निलम्बन गरि छानविन गर्ने काम भइरहेको कृषि विकास बैंकको केन्द्रीय प्रवक्ता हिमलाल पौड्यालले जानकारी दिए । ‘लेखापरीक्षण हुँदा केही कैफियत देखियो । धितो र परियोजनामा केहि कैफियत देखियो । त्यसपछि छानविन हुन जरुरी छ भन्ने भएपछि त्यसको काम भइरहेको छ’, उनले भने ।

जिल्ला निरीक्षकलाई पठाएर छानविन थालिएको उनले बताए । छानविनमा प्रभाव पर्न सक्ने भन्दै उनले छानविन समितिका सदस्यहरूको नाम खुलाउन भने चाहेनन् । ‘छानविनकै क्रममा रहेकाले अरू भन्न मिल्ने अवस्था रहेन । जतिसक्दो चाँडो रिपोर्ट दिने भन्ने छ । गम्भीर प्रकृतिको भए धेरै दिन लाग्न सक्छ । रिपोर्ट आएपछि मात्र वास्तविकता बाहिर आउँछ’, उनले भने ।

कृषि विकास बैंकको पैसा ग्राहकको अन्य बैंकमा भएको ऋण चुक्ताका लागि ग्राहकलाई बिना ब्याज सापटी उपलब्ध गराएको पाइएपछि शाखा प्रमुख दत्तलाई निलम्बन गरिएको स्रोतले जानकारी दियो । कृषि बैंकमा सस्तो ब्याजदरमा ऋण पाइने भएकाले अर्काे बैंकको ऋण चुक्ताका लागि त्यसरी सापटी दिएको देखिन्छ ।

‘बैंकको पैसा कर्मचारीको खातामार्फत ग्राहकको खातामा गएको देखियो । ग्राहक र कर्मचारीको खातामा त्यसरी लेनदेन भएको हुनुहुँदैन’, स्रोतले भन्यो, ‘ग्राहकले अन्य बैंकमा भएको ऋण चुक्ताका लागि त्यसरी बिनाव्याज सापटी लिएको देखिन्छ । कानुनले त्यसो गर्न पाइँदैन ।’ शाखा प्रमुख दत्तले ग्राहकलाई सहुलियतको ऋण उपलब्ध गराएबापत ग्राहकसँग कमिसन लिएको र उनको खातामा अस्वाभाविक रकम पनि देखिएको स्रोतले बताएको छ ।

प्रकाशित मिति: ३ कार्तिक २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्