श्रममन्त्रीको आपत्तिजनक अभिव्यक्ति


 


काठमाडौँ, कार्तिक २५
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले आपत्तिजनक अभिव्यक्ति दिएका छन् । उनले गृहजिल्ला तनहुँमा सोमबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने क्रममा मधेसी समुदायप्रति लक्ष्य गरेर आपत्तिजनक अभिव्यक्ति दिएका हुन् ।

‘दुईतिहाइको सरकार छाडेर देशै टुक्य्राउ भन्ने मधेसीहरूलाई १२/१४ जना मन्त्री बनायो,’ उनको भनाइ थियो । ओलीले मन्त्रीमा श्रीमान् श्रीमतीलाई आलोपालो अवसर दिएको र मन्त्रीलाई खरिदार, मुखियाजस्तो सरुवा गरेको टिप्पणीसमेत मन्त्री श्रेष्ठले गरेका थिए ।

श्रेष्ठ एकीकृत समाजवादीबाट मन्त्री भएका हुन् । मन्त्रीको अभिव्यक्तिबारे बुझेर पार्टीले कदम चाल्ने महासचिव वेदुराम भुसालले बताए । ‘उहाँले के भन्नुभएको छ, त्यो त मलाई शब्दशः थाहा छैन तर केपी ओलीले उपप्रधानमन्त्री बनाउनुभएका राजेन्द्र महतोले यो देशबाट स्वराज, मुक्ति आन्दोलन चलाउँछु भन्नुभएको थियो, त्यसैलाई संकेत गर्नुभएको होला,’ उनले थपे, ‘उहाँले के बोल्नुभएको हो र कस्तो आशय छ, त्यो सोध्नुपर्ला ।’

मन्त्री श्रेष्ठको अभिव्यक्ति नश्लीय र आपत्तिजनक भएको भन्दै आलोचना सुरु भएको छ । सामाजिक सञ्जालमा श्रेष्ठको उक्त अभिव्यक्तिको चर्को विरोध भइरहेको छ । मन्त्री श्रेष्ठसँग तनहुँमा दिएको अभिव्यक्तिबारे बुझ्न खोज्दा उनले फोन उठाएनन् ।

बहालवाला मन्त्रीले विवादास्पद अभिव्यक्ति दिएको यो पहिलोपटक होइन । विगतमा पदीय मर्यादाविपरीत हुने अभिव्यक्ति दिएको भन्दै कतिपयले मन्त्री पद नै गुमाएका छन् । बंगलादेशमा चिकित्सा शिक्षा पढ्ने छात्राबारे दिएको अभिव्यक्तिका कारण २०७६ मा तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले राजीनामा दिनुपरेको थियो । २०६८ मा तत्कालीन रक्षामन्त्री शरतसिंह भण्डारीले ‘तराईका २२ जिल्लाका जनताले छुट्टिने निर्णय गरे संविधान, कानुनले रोक्न सक्दैन’ भन्ने अभिव्यक्ति दिएपछि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले पदमुक्त गरेका थिए । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: २५ कार्तिक २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्