चोलेन्द्रविरुद्ध थप शसक्त बन्यो बार एसोसिएसन


 


काठमाडौं, मंसिर १
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वार्ताको नाममा राजिनामा टार्न खोजेपछि नेपाल बार एसोसियसनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । मंगलबार साँझ बसेको बार कार्यसमितिको बैठकले आगामी शुक्रबारसम्मका लागि आन्दोलनको कार्यक्रम थप गरेको हो ।

नेपाल बार एसोसियसनले सर्वोच्च अदालतअगाडिको धर्ना प्रदर्शनलाई निरन्तरता दिँदै देशभरका १८ वटा उच्च अदालतमा समेत विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । शुक्रबारसम्म प्रधानन्यायाधीश जबराको राजीनामा नआए केन्द्रीय प्रतिनिधि पठाएर उच्च अदालतहरूमा विरोध प्रदर्शन गर्ने पनि निर्णय भएको छ ।

नेपाल बार एसोसियसनले मंसिर ३ गते संसदमा रहेका सबै दलहरूको कार्यालयमा ज्ञापनपत्र बुझाउने जनाएको छ । यस्तै, नेपाल बारले प्रधानन्यायाधीशविना संबैधानिक परिषद्को बैठक बोलाएर अदालतमा देखिएको समस्या हल गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, जबराले अहिलेसम्म गरेका विवादित फैसलासम्बन्धी कागजपत्र संकलन गरी अध्ययन गर्ने निर्णय पनि गरेको छ । नेपाल बारले आन्दोलनमा कालो कोट लगाएका राजनीतिक दलका कार्यकर्ताको घुसपैठ भएको भन्ने समाचारमा कुनै सत्यता नभएको वताएको छ । यस्ता भ्रामक समाचारमा विश्वास नगर्न बारले अनुरोध गरेको छ ।

प्रकाशित मिति: १ मंसिर २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्