एमाले सचिवमा शेरधन राईको उम्मेदवारी घोषणा


 


काठमाडौं, मंसिर ९
नेकपा एमालेका युवा नेता एवम् प्रदेश नं १ का संस्थापक मुख्यमन्त्री शेरधन राईले भोलिबाट शुरु हुने एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । महाधिवेशनका लागि चितवन पुग्नु भएका राईले सचिव पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

२०५४ देखि २०७० सालसम्म चार कार्यकाल एमाले भोजपुरको नेतृत्व गर्नु भएका राई २०७० यता एमालेको केन्द्रिय सदस्य हुँदै पोलिटव्यूरो सदस्य एंव प्रदेश नं १ को सह इन्चार्जको जिम्मेवारीमा समेत हुनुहुन्छ । एमालेले विधान महाधिवेशनबाट सात जना सचिवको व्यवस्था गरेको छ ।

टुट, फुटका बेला सधै एमाले बचाउने अभियान सञ्चालन गर्दै आउनु भएका राईको उम्मेदवारी घोषणालाई निकै चासोका साथ हेरिएको छ ।

२०५४ मा एमाले फुट्दा भोजपुर एमालेको कमाण्ड सम्हाल्नु भएका राई २०६९ मा अशोक राईहरुले एमाले चोइटाउने बेला समेत एमालेका आदिवासी जनजाति नेताहरुलाई रोक्न हरदम प्रयास गर्नुभएको थियो । उक्त पहलकदमीले एमाले ठूलो क्षतिबाट जोगिएको थियो ।

२०७२ सालमा पहिलो पटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सूचना तथा सञ्चारमन्त्रीको रुपमा उहाँले ९ महिना कार्यभार सम्हाल्नु भएको थियो ।

२०७४ फागुन २ गते प्रदेश नं १ को प्रथम मुख्यमन्त्री बन्नु भएका राईले करिब ४२ महिना प्रदेश सरकारको नेतृत्व समेत गर्नु भएको थियो । माधव नेपालले एमाले चोइटाउन लाग्दा पार्टी एकता कायम राख्नका लागि उहाँले मुख्यमन्त्री पद समेत त्याग गर्नु भएको थियो ।

प्रकाशित मिति: ९ मंसिर २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्