के छ प्रचण्डको राजनीतिक प्रतिवेदनमा ?


 


काठमाडौँ, पौष १३
नेकपा माओवादी केन्द्रको महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उक्त प्रतिवेदनमाथि छलफलका लागि विभिन्न २५ वटा समूह बनाइएको छ । ती समूहमा छलफल पछिको निष्कर्षलाई समावेश गर्दै प्रतिवेदनले अन्तिम रुप पाउने छ ।

पार्टी एकता, अदालतको फैसला, एकता भंग हुनाको कारण, प्रचण्डपथ, पार्टी कमजोर हुनाको कारण सहित विश्व परिस्थिति, जलवायु परिवर्तन र आगामी कार्यदिशा लगायतका विषयमा राजनीतिक प्रतिवेदनमा व्याख्या गरिएको छ ।

के छ प्रचण्डको प्रतिवेदनमा ?
प्रचण्डले प्रतिवेदनमा देशको आन्तरिक राजनीतिक तरलता र दक्षिणपन्थी मोर्चाबन्दीको बारेमा उल्लेख गरेका छन् । प्रचण्डले विदेशी प्रतिक्रियावादी शक्तिहरूले मलजल गर्दै लोकतान्त्रिक प्रक्रिया र राष्ट्रिय स्वाधिनतामाथि हस्तक्षेप बढाएर लगेको उल्लेख गरेका छन् ।

राजनीतिक शक्तिहरूका बीचमा नयाँ प्रकारको ध्रुवीकरण र मोर्चाबन्दी सुरु भएको भएको भन्दै प्रचण्डले नेपाली जनमत आज पनि लोकतान्त्रिक संविधान, राष्ट्रिय स्वाधिनताका पक्षमा स्पष्ट रहेको तथ्य प्रतिगमन विरोधी आन्दोलनमा व्यापक जनसहभागिताले प्रष्ट गरेको प्रतिवेदनमा उल्लेख गरेका छन् । प्रचण्डले पार्टी कमजोर हुनाको कारणबारे प्रतिवेदनमा उल्लेख गरेका छन्।

केही वर्षदेखि आफूहरुको पार्टीमा देखा परेका वैचारिक र राजनीतिक अस्पष्टता, विभाजन, गुटबन्दी अराजकताका साथै शान्ति सम्झौतापछिका कतिपय राजनीतिक र संगठनात्मक कमजोरीसमेतका कारण परिवर्तनको रक्षा, विकास र परिमार्जनमा प्रभावकारी भूमिका खेल्न नसकेको बताउँदै उनले यसको परिणामस्वरुप दक्षिणपन्थी, प्रतिक्रियावादी शक्तिहरूले टाउको उठाउने मौका पाइरहेका छन् । यो विषयमा पार्टीले गम्भीरताका साथ समीक्षा गर्ने र तद्नुसार संगठन र कार्यशैलीको विकास गर्नुपर्ने आवश्यकता रहेको उनले जनाएका छन् ।

त्यसका लागि विचारको स्पष्टता आवश्यक रहेको उनको भनाइ छ । भूमण्डलीकृत साम्राज्यवादका विशेषताहरू, सूचना प्रविधिमा भएको क्रान्तिको समग्र प्रभावका साथै आजको उत्पादन शक्ति र उत्पापदन सम्बन्धबारे आंकलन गरेर तथा आफ्नै आर्थिक, सामाजिक तथा राजनीतिक विकासको अवस्थालाई ठोस रुपमा विश्लेषण र संश्लेषण गरेर मात्रै पार्टीको राजनीतिक विचारमा स्पष्टता हासिल गर्न सकिने प्रचण्डले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: १३ पुस २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्