Deshko News
११ आश्विन २०८०, बिहिबार

भाइटीकामा प्रयाेग गरिने यी ७ रङकाे अर्थ के हाे ?



tihar-seven-colorतिहार विविध रङका टीका लगाएर पूजा गरी प्रेम, सद्भाव र शुभकामना आदान प्रदान गर्ने पवित्र चाड हो। फूल, बत्तीजस्तै तिहारमा रङको भूमिका पनि प्रधान छ। भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिने संस्कारबाट भाइटीकामा प्रयोग गरिने सप्तरङले जीवन रङ हो र रङ नै जीवन भन्ने बोध गराउँछ।

भाइटीकामा प्रयोग गरिने रङहरुको आआफ्नै भाव, अर्थ र प्रभाव छ

१. रातो रङः भाइतिहारमा चीरायुको कामना गरी दिदीबहिनीले दाजु भाइलाई पूजा गरी टीका लगाउँदा प्रयोग गरिने रातो रङको अर्थ हुन्छ, स्नेह, दीर्घकालीन सुख, समृद्धि र सौभाग्य। किनभने, रातो रङ शक्तिशाली, वीरताको प्रतिनिधित्व गर्ने प्रबल रङ हो।

रातोलाई समृद्धि, शुभ सौभाग्यको प्रतीक, उन्नत र अभिवृद्धि हुने प्रेरक रङ मानिन्छ। यो सफलता र उत्कृष्टताको प्रतीक, प्रेम, दया माया, सद्भाव एवम् परोपकारी भावनाको अभिव्यक्ति गर्ने रङ हो। यी विविध भावनाले प्रेरित भएर रातो रङको टीका लगाउने चलनमा मनोवैज्ञानिक प्रभाव पनि परेको हुन्छ।

२. सुन्तला रङः यसको गुण नै न्यानो हुनु हो। संघर्षरत, मिहिनेतशील अथवा परिश्रमीको अभिव्यक्ति गर्ने प्रबल तेजिलो रङ हो यो। यसलाई जीवनमा पवित्रताको बोध गराउने गतिशील र क्रियाशीलताको भाव व्यक्त गराउने रङका रुपमा लिइन्छ। यही भावनाले प्रेरित भइ सुन्तला रङको टीका लगाइन्छ।

३. पहेलो रङः शुद्ध, चोखो तथा पूण्यको प्रतीक हो पहेलो रङ। ज्ञानको बोध गराउने रङ पनि हो यो। यो रङको गुण नै उज्यालो भएकोले यसले जीवन नै उज्यालो भएको आभास गराउँछ। पहेलोबाट सम्पन्न र सुखद भाव उब्जन्छ। त्यसैले उक्त विविध भावनाको कामना गरी पहेलो टीका लगाइनु नै यसको धार्मिक प्रभाव हो।

४. हरियो रङः हरियो रङको स्वभाव नै स्वच्छ र हराभराको आनन्द दिने प्रकृतिको हुन्छ। जहाँ स्वच्छता छ, त्यहाँ जीवन स्वस्थ हुन्छ। हरियो रङ प्रकृतिसँग जति नजीक छ, धर्मसँग पनि यो रङलाई उत्तिकै नजिक राखिएको छ। त्यसैले यो रङको टीका लगाइनुको अर्थ मान्छे निरोगी रहोस्, उसको जीवनमा उमङ्ग छाओस् भन्ने कामना हो। सदा सुख, शान्ति, आनन्द र धनधान्यले फलिफाप होस् भन्ने आसय अभिव्यक्त गर्ने प्रतीक तत्व हो हरियो रङ।

५. नीलो रङः नीलो रङको स्वभाव नै शान्त र गम्भीर। यस हेतुले पनि जीवनमा सदा शान्ति मिलोस् भनी कामना गरी नीलो टीका लगाइन्छ। नीलो रङको मूल धार्मिक भावना पनि यही हो। नीलो विवेकीपन, शालीनता, धैर्यको बोध गराउने रङ हो। अझ, गम्भीरता, भद्रता, प्रतिनिधित्व गर्ने प्रबल रङ पनि हो यो। नीलोले गौरवशाली, स्वाभिमानी र लगनशीलताको अभिव्यक्त गर्ने भएकोले पूजा गरिने व्यक्ति पनि यी विविध लक्षणले युक्त रहोस् भनी कामना गर्दै नीलो रङको तिलक लगाउने प्रचलन छ।

६. बैजनी रङः यो ज्ञान, ज्ञानी र बौद्धिकताको प्रतीक रङ हो। यो गुणस्तर एवम् उत्कृष्टताको प्रभाव दिने रङ पनि हो। यसले दया, माया, करुणा, उदारताको भाव समेत व्यक्त गरिरहेको हुन्छ। अझ यसले साक्षरता, सभ्यता, बौद्धिकता एवम् विनम्रताको प्रबल बोध पनि गराउँछ। यही धार्मिक आस्थामा बैजनी रङको टीका लगाइदिने प्रचलन छ।

७. सेतो रङः सेतोले पवित्रता, शुद्धता, सफा मन र सत्यताको बोध गराउँछ। तेजस्वीको प्रतीक सेतो रङबाट सहिष्णुता र सच्चा मित्रताको पनि बोध हुन्छ। वास्तवमै सादा, सेतो रङबाट जीवनमा खुसी, शीतल र आनन्दको अनुभव मिल्छ। सेतो सफा, निर्दोष, निरपराध, निष्छलताको संकेतबोधक रङ हो। यस्ता अर्थले सेतो रङ धार्मिक दृष्टिकोणले रातो, पहेलोपछिको महत्वपूर्ण रङ हो।

 

प्रकाशित मिति: १६ कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News