बलात्कार घटना मिलापत्र गराउने वडा सदस्यसहित ५ जना पक्राउ


 


कैलाली, पौष २५
कैलालीमा जबर्जस्तीकरणी घटना मिलापत्र गराएको आरोपमा ५ जना पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका–४ जनकपुरबाट वडा सदस्यसहित ५ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँमा बस्ने ५३ वर्षीय वडा नम्बर ४ का पूर्ववडासचिव यज्ञराज आचार्य, ५४ वर्षीय वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, ४३ वर्षीय शिक्षक होमप्रसाद सुवेदी, ३४ वर्षीय राजु भट्टराई र जबर्जजस्ती करणी गर्ने ३० वर्षीय प्रकाश सुवेदीलाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको हो ।

मंसिर १५ गते सोही ठाउँकी ७७ वर्षीया चौधरी समुदायकी एक वृद्धालाई मदिरा सेवन गरी सुवेदीले खेतमा लगेर जर्बजस्ती करणी गरेको प्रहरीको भनाइ छ । घटना बाहिरिने डरले अर्को दिन पीडित पक्षलाई ३ लाख दिने भनेर मिलापत्र गरेका थिए । तर, ३ लाखमध्ये १ लाख नदिँदा घटना करिब एक महिनापछि बाहिरिएको हो ।

उक्त कसुरमा पुस २१ गते इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दरखास्त प्राप्त भएपछि सोही दिन प्रतिवादीसहित मिलापत्र गराउने ५ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उनीहरूमाथि अदालतबाट म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २५ पुस २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्