वर्षमान पुनलाई गुर्जो सेवनकै कारण समस्या आएको हो? यसो भन्छन् आयुर्वेद चिकित्सक


 


काठमाडौं, माघ २३
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले आफूलाई गुर्जो सेवनका कारण स्वास्थ्यमा जटिलता आएको बताएका छन्। कोरोना भाइरसले आक्रान्त भएका बेला त्यसबाट बच्न विभिन्न उपायहरु अपनाउन थालिएका बेला उनले गुर्जो सेवन गरेका थिए। साथीहरुको सल्लाहमै उनले गुर्जो सेवन गरेको बताएका छन्।

‘एक खालको हर्बलहरु, जडीबुटीका औषधिहरु खाएको थिएँ। त्यसले असर गरे पनि विस्तारै ठीक भयो। डाक्टरहरुले पनि हर्बल औषधिहरु वा जडीबुटीहरु नखान सल्लाह दिनुभयो,’ सञ्चारमाध्यमहरुसँग उनले भनेका छन्, ‘कोरोनाकालमा धेरै साथी भाइहरुले गुर्जो खान भन्नुभयो। मैले पनि पानीमा गुर्जोको एक टुक्रा राखेर ग्रिन टीजस्तै गराएर खाएँ। त्यसको असर लिभरमा पर्‍यो। पछि बुझ्दा गुर्जोले अरु साथीहरुको पनि लिभरमा समस्या गरेको थाहा पाएँ।’

नेता पुन गुर्जो सेवन गरेर जटिल समस्यामा परेपछि उपचारका लागि चीन र थाइल्याण्ड पुगेका थिए। उनी तीन महिनापछि गत १० माघमा नेपाल फर्किएका थिए। स्वास्थ्यमा समस्या आएपछि नेता पुनले पछिल्लो समय चीनको थर्ड पीपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएका थिए। उपचारका लागि उनी गत असोज १३ मा थाइल्याण्ड प्रस्थान गरेका थिए। लगत्तै त्यहाँबाट उनी चीन पुगेका थिए।

चिकित्सकका अनुसार उनी ‘क्रिग्लर-नजर-टाइप टु सिन्ड्रोम’ नामक दुर्लभ समस्याबाट पीडित छन्। यो वंशाणुगत रोग भएको बताइएको छ। पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविकरूपमा बढेको चिकित्सकहरूले बताएका थिए।

चिकित्सकका अनुसार ‘क्रिग्लर नजर सिम्टम’ भनेको सानो उमेरदेखि वा जन्मजात नै हुने जण्डिस टाइपको एक प्रकारको रोग हो जण्डिस भएपछि मानिसमा पहेँलोपना आउने कारकलाई (बीलीरुबीन) भन्छौं।
आयुर्वेद चिकित्सक डा. प्रकाश ज्ञवाली सही व्यक्तिलाई सही समयमा सही तरीकाले चिकित्सकको परामर्शमा औषधि सेवन गरे केही फरक नपर्ने बताउँछन्। उनले भने, ‘कुनै पनि औषधि जथाभाबी सेवन गर्नु राम्रो होइन। जुनसुकै औषधि वा चिज धेरै खाँदा पनि हानी पुर्‍याउँछ।’

आयुर्वेद चिकित्सक डा. गणेश अधिकारी मात्रा नमिलाइकन र चिकित्सकको सल्लाह विना अन्धाधुन्ध कुनै पनि औषधि सेवन गर्न नहुने बताउँछन्। उनले भने, ‘गुर्जोको मात्रा मिलाएर चिकित्सकको सल्लाहअनुसार सेवन गर्नुपर्छ। चिकित्सकको सल्लाहबिना आफैँ जडिबुटी हो भन्ने तरिकाले मनपरी सेवन गर्नु हुँदैन। कतिपयले थाहा नपाएर ‘टीनोस्पोरा कोर्डिफोलिया’ सेवन गर्नुपर्नेमा ‘टिनोस्पोरा क्रिस्पा’ प्रयोग गरिरहेका छन्। उस्तै उस्तै देखिएर नचिनेर ‘टिनोस्पोरा क्रीस्पा’ सेवन गर्नाले पनि मानिसहरुलाई असर गरेको हुनसक्छ।’

आयुर्वेद चिकित्सकहरु के भन्छन्-

जडिबुटी सेवन गर्दा चिकित्सकको सल्लाह लिनुपर्छ : डा.प्रकाश ज्ञवाली

कुनै पनि मान्छेलाई पूर्व रोगहरु छ भने आफ्नो रोगमा के-के सावधानी अपनाउने ध्यान दिनुपर्छ। लिभरको समस्या छ भने हर्वल मेडिसिन वा अन्य मेडिसिन सेवन गर्ने बेलामा सो विषयमा विज्ञहरुसँग राय लिनुपर्ने हुन्छ। छलफल गर्नुपर्ने हुन्छ। विज्ञहरुले ‘प्रेष्क्राइब’ गरेको औषधिमात्रै सेवन गर्नुपर्ने हुन्छ। अन्यथा औषधि सेवन गर्न मिल्दैन। गुर्जोको धेरै प्रजातिहरु छन्। कुनै पनि जडिबुटी सेवन गर्दा डोज मिलाएर सेवन गर्नुपर्छ।

सही व्यक्तिलाई सही समयमा सही तरिकाले चिकित्सकको परामर्शमा औषधि सेवन गरे केही फरक पर्दैन। जथाभाबी खाइयो भन्ने असर गर्छ। विहान साझँ ३-३ ग्राम सेवन गर्नुपर्छ। कुनै पनि औषधि जथाभाबी सेवन गर्नु राम्रो होइन। जुनसुकै औषधि वा चिज धेरै खाँदा पनि हानी पुर्‍याउँछ। लिभर जहिले पनि खतरामा भएको अंग हो। चिकित्सकले कतिपय अवस्थामा बिरामीलाई हर्बल मेडिसिन नखानु भनेर भन्छन्। हर्बल मेडिसिन खाने नाममा कतिपय बिरामीले जे पनि खाइदिने गरेको पाइन्छ।

गुर्जो ‘टीनोस्पोरा कोर्डिफोलिया’ले कलेजो विगार्ने होइन : डा. गणेश अधिकारी
गुर्जोजस्तो देखिने तर लामो समय प्रयोग गर्दा हानी गर्नसक्ने वनस्पती जसको नाम ‘टीनोस्पोरा क्रीस्पा’ हो। झर्लक्क हेर्दा गुर्जो ‘टीनोस्पोरा कोर्डिफोलिया’जस्तै देखिन्छ। तर, डाँठमा ठूल्ठूला गिर्खा हुन्छन्। चिल्लो अत्यन्त पातलो बोक्रा भएको, बोक्रा खोस्रिदा काण्ड हरियो देखिने, गोलाकारमा काटेर हेर्दा भित्र चक्रिका देखिने गुर्जो सक्कली गुर्जो हो।

हाम्रो बनजगंगलमा गुर्जोजस्तो गरी पाइने ‘टीनोस्पोरा क्रिस्पा’को धेरै समय प्रयोग गर्दा कलेजोको लागि हानिकारक हुनसक्ने भएकाले गुर्जो भन्ने ठानी नियमित प्रयोग गर्नु हुँदैन। कतिपय ठाउँमा मान्छेहरुले चिकित्सकको सल्लाह बिना प्रजाति नै फरक फरक सेवन गरिरहेका छन्। गुर्जो ‘टीनोस्पोरा कोर्डिफोलिया’ले कलेजो बिगार्ने होइन बरु रक्सी धेरै सेवन गरेर बिग्रेको कलेजोलाई सपार्ने विविध अध्ययनले देखाएको छ।

गुर्जो ‘टीनोस्पोरा कोर्डिफोलिया’ सेवन गर्दा मात्रामा पनि ख्याल गर्नुपर्ने हुन्छ। गुर्जोको डाँठ काण्ड एक टुक्रा ५ देखि १० सेन्टिमिटर लिने, त्यसलाई थिचेर एक ग्लास (१०० मिली) पानी र १० ग्राम मिश्रिमा भिजाएर राख्ने (साझँ),भोलिपल्ट बिहान छानेर पिउने (खाली पेटमा) गर्नुपर्छ। तर, सुगरको समस्या भएमा मिश्री मिसाउनु हुँदैन। गुर्जो ‘टीनोस्पोरा कोर्डिफोलियो’ स्वस्थकर हुन्छ तर, प्रजाति नचिन्ने, अन्य प्रजाति सेवन गर्ने, सेल्फ मेडिकेसन गर्ने, चिकित्सकको परामर्शबिना सेवन गर्ने तथा लामो समयसम्म अन्धाधुन्ध प्रयोग गर्नाले हानि गर्न सक्छ। साभार अन्नपुर्ण दैनिकबाट

प्रकाशित मिति: २३ माघ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्