जिप दुर्घटनामा परेकी बेहुलीको दाहिने हात काटियो


 


काठमाडौँ, माघ २३
प्युठानमा शनिबार बिहानै भएको जिप दुर्घटनामा परेर घाइते बेहुलीको हात काटिएको छ। दुर्घटनाका घाइते बेहुली रिमा जिसीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ अस्पतालमा उपचार भइरहेको छ। जिप दुर्घटनामा गम्भीर घाइते जिसीको दाहिने हात बचाउन नसकिने अवस्था आएपछि काटिएको हो।

अहिले अन्य घाइतेको पनि त्यहीँ उपचार भइरहेको छ। अरुको अवस्था सामान्य रहेको अस्पताल पुगेकी अनेरास्ववियुकी नेतृ लक्ष्मी केसीले जानकारी दिएकी छन्। घाइते बेहुला दानबहादुर खड्काको अवस्था खतरामुक्त रहेको छ। लोकन्ती र बेहुला बेहुलीको भैरहवा मेडिकल कलेजमा उपचार जारी छ।

जन्ती बोकेको जीप शनिबार बिहानै गौमुखी गाउँपालिका–६, लिवाङ ओखरपाटामा दुर्घटनामा ६ जनाको घटनास्थल र दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो।

मृत्यु हुनेमा प्यूठान गौमुखी-६ लिवाङ बस्ने ४० वर्षीया वसन्ती खड्का,२९ वर्षीया केशरी खड्का, ५० वर्षीय बलबहादुर बुढा, ३२ वर्षका खिम बहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का र नौबहिनी गाउँपालिका–६ लुङकी १८ वर्षीया विपना जिसी छन्।

स्थानीय ३९ वर्षीय वसन्त खड्का र उनकी छोरी वर्ष ११ को एलिसा खड्काको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको थियो। दुर्घटनामा बेहुला र बेहुलीसहित पाँचजना घाइते भएका थिए।

जीप सडकबाट करिब एकसय ५० मिटर तल खसेको थियो। प्युठानको नौवहिनी–६ लुङबाट दुलही लिएर फर्किने क्रममा ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान ३ बजे दुर्घटना भएको थियो। जीपमा १३ जना सवार थिए।

प्रकाशित मिति: २३ माघ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्