१३ वर्षीया बालिकालाई ब्ल्याकमेल गरी बलात्कार गर्ने थुनामा


 


काठमाडौं, माघ २४
नक्कली फेसबुक एकाउन्टबाट १३ वर्षीया बालिकालाई साथी बनाएर ब्ल्याकमेल गरी बलात्कार गर्ने सुजन श्रेष्‍ठलाई काठमाण्डौ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । करिब ३ महिना अगाडि ललितपुर पाटन सुन्धारा बस्ने २१ वर्षका श्रेष्‍ठले सौगात महर्जन नामको नक्कली फेसबुक एकाउन्ट बनाएर ती बालिकालाई साथी बनाएर बारम्बार भिडियो कल गरी संवेदनशील अंगहरु देखाउन लगाई भिडियो कल रेकर्ड गरेका थिए ।

पछि स्कुलमा साथीहरु तथा घर परिवार समेतलाई उक्त भिडियो देखाउँछु र सामाजिक सञ्‍जालमा भाइरल बनाउँछु भनी धाक धम्की दिई ब्ल्याकमेल गरी गत पुस २७ गते काठमाडौँ बुढानिलकण्ठ नजिकै रहेको एक निर्माणाधिन घर पछाडि भेट्न बाध्य बनाई जवरजस्ती करणी गरी फरार रहेका थिए ।

श्रेष्‍ठलाई पुस ३० गते नियन्त्रणमा लिई महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट थप अनुसन्धान सम्पन्न गरी राय सहितको प्रतिवेदन माघ १८ गते सरकारी वकील कार्यालय बबरमहलमा बुझाइएको थियो । आइतबार जिल्ला अदालतको आदेशबाट श्रेष्‍ठलाई पुर्पक्षका लागि जगन्नाथ देवल काठमाडौँमा थुनामा पठाइएको छ ।

प्रकाशित मिति: २४ माघ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्