राजसंस्था छाडेर हिन्दूवादी दल खोल्दै कमल थापा


 


काठमाडौं, माघ २५
१९ मंसिरको एकाबिहानै जुन खबर सञ्चार माध्यममा आयो, त्यो खबर राष्ट्रिय प्रजातन्त्र पार्टीमा निरन्तर नेतृत्वमा रहेका कमल थापाको पक्षमा थिएन । उनी आफैंले महामन्त्री बनाएका राजेन्द्र लिङ्देनसँग १९९ मत अन्तरले पराजित भएका थिए । महाधिवेशनबाट पराजित थापाले हारलाई सहज रूपमा लिएनन् ।

उनले अध्यक्षमा विजयी लिङ्देनलाई सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई त दिए, साथै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको आरोपसमेत लगाए । उनले त्यसबेला सामाजिक सञ्जालमा लेखेका थिए, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो ।

सो एजेन्डाको मूल संवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’त्यसयता थापाले महाधिवेशनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेप भएको भन्दै छानबिन हुनुपर्ने माग निरन्तर रूपमा उठाइरहेका छन् । यसका अलावा उनले सैद्धान्तिक, व्यावहारिक र संगठनात्मक गरी तीन विषय उठान गरिरहेका छन् ।

त्यस पार्टी नेतृत्वले छलफल गरेर निराकरण गर्नुपर्ने उनको माग छ । उनले यो विषयमा २७ मंसिरमा पहिलोपटक र १६ माघमा दोस्रोपटक अध्यक्ष लिङ्देनलाई पत्र पठाएर आफ्नो माग ध्यानाकर्षण गराएका थिए । तीन दिनअघि थापा र लिङ्देनबीच भेटवार्ता पनि भयो । तर, सो भेटवार्ताले पनि थापा खुसी हुन सकेनन् ।

उनले अध्यक्ष लिङ्देनले आफूलाई आएर भेटेको तर माग सम्बोधन गर्ने दिशामा उनी नदेखिएको पनि बताएका छन् । भेलामार्फत नै थापाले अध्यक्ष लिङ्देनलाई तीनवटा माग पूरा गर्न अल्टिमेटमसमेत दिएका छन् ।

ती माग सम्बोधन नगरे ‘नयाँ यात्रा’ थालनी गर्ने चेतावनी पनि उनले दिएका छन् । थापाको नयाँ यात्रा भने राजसंस्था छाडेर हिन्दूवादी दल खोल्ने उनको तयारीसँग जोडेर हेरिएको छ । राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित मिति: २५ माघ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्