‘सिआईबीको पुलिस हौं’ भनेर नगद र मोबाइल लुटपाट

काठमाडौं, माघ २८
केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको ‘प्रहरी हौं’ भनेर काठमाडौंको बौद्धबाट दुईजना युवाले नगद र मोबाइल लुटेका छन् । माघ २५ मा काठमाडौं महानगरपालिका–६ मा रहेको कुशल व्याङ्क्वेट अगाडि चिया खाइरहेका २ जनालाई उनीहरुले लुटेका हुन् ।
लुटमा संलग्न मध्येका गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखान घर भएका २७ वर्षीय सुजन मिश्रलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले बताए । मिश्रको साथबाट प्रहरीले राष्ट्रिय अनुसन्धान विभागको सुचकको परिचयपत्र बरामद गरेको छ । सो परिचयपत्रको आधिकारिकताबारे प्रहरीले विभागलाई पत्र लेखेर जानकारी मागेको छ । लुटमा संलग्न अर्का एकजना फरार छन् ।
चिया खाइरहेका व्यक्तिहरुलाई ‘तिमीहरु लागु औषध कारोबारी हौ ?’ भनेर उनीहरुले पहिले सो पसलमा र त्यसपछि लजमा लगेर खानतलासी गरेर एटिएमको पासवर्ड मागेर १ लाख ३६ हजार निकालेर लगेका थिए । माघ २६ मा फेरि फोन गरेर थप १ लाख मागेपछि पीडितहरु महानगरीय प्रहरी वृत्त बौद्धमा उजुरी गर्न गएका थिए ।
शुरुमा आरोपीहरुले २० लाख मागेको र पछि मोवाइल, एटिएम कार्ड र नगद लिएर हिँडेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पक्राउ परेका आरोपीमाथि बौद्ध प्रहरीले चोरी तथा डाँकासम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २८ माघ २०७८, शुक्रबार