एमालेका यी पाँच सांसदले खाली कागजमा हस्ताक्षर गर्न मानेनन्


 


काठमाडौँ, फागुन ३
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले ६ पृष्ठ खाली कागजमा सांसदहरुको हस्ताक्षर संकलन गर्दा पाँच सांसदले त्यसमा हस्ताक्षर गर्न नमानेको खुलेको छ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा एमालेले विषय बस्तु नखुलाई खाली कागजमा आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेको थियो। त्यो हस्ताक्षरलाई जुनसुकै बेला प्रयोग गर्न सकिने एमालेका नेताहरुले बताइरहेका छन्।

एमाले संसदीय दलले हस्ताक्षर संकलन गर्दा नेताहरु भीम रावल, घनश्याम भूसाल, दीपकप्रकाश भट्ट, पवित्रा निरौला खरेल र झपट रावलले खाली कागजमा हस्ताक्षर नगर्ने भन्दै अस्वीकार गरेका हुन्।

उनीहरुले उपस्थिति पुस्तिकामा हस्ताक्षर गरेको बताएका छन्। तर बाँकी पाँचवटा खाली पत्रमा हस्ताक्षर नगरेको सांसद झपट रावलले बताए।
कुनै विषय उल्लेख नगरी खाली कागजमा हस्ताक्षर गराइएको भन्दै उनीहरुले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन्।

बैठकमा सांसद रावलले कुन विषयमा हस्ताक्षर गर्नुपर्ने हो, त्यो लेखेर ल्याएपछि आफूले विचार गर्ने तर, खाली पानामा हस्ताक्षर नगर्ने बताएका थिए। बैठकमा उपस्थित ९७ सांसदमध्ये ५ जना बाहेक बाँकी सबैले खाली कागजमा हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति: ३ फाल्गुन २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्