लुम्बिनीमा आज सार्वजनिक बिदा


 


बुटवल, फागुन ३
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश स्थापना दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो । लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङको देउखुरीमा मनाउने भएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले विशेष कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशससभाका सभामुख पूर्ण घर्ती, प्रदेशका मन्त्रीहरूलगायत व्यक्तिको सहभागिता रहनेछ । उनीहरू दाङ पुगिसकेका छन् । कार्यक्रममा मन्त्रालयहरूको प्रगति प्रतिवेदन, प्रदेशको डकुमेन्ट्री सार्वजनिक तथा पदक र विभुषण वितरण गरिने बताइएको छ ।

प्रदेशका सबै प्रशासनिक गतिविधि अस्थायी राजधानी बुटवलबाट सञ्चालन भए पनि स्थापना दिवस स्थायी राजधानीमा मनाउन लागिएको हो । १७ महिनाअगाडि घोषणा भएको स्थायी राजधानीमा संरचना नबन्दा बुटवल मुकामबाटै सरकारले सबै काम गर्दै आएको छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्