दिल्लीमा अलपत्र महिलाको उद्धार, पैसा कमाउने लोभमा यसरी पुगिन् दिल्ली


 


काठमाडौँ, फागुन १०
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा दुई महिनादेखि भारतको नयाँ दिल्लीमा अलपत्र एक महिलाको उद्धार गरिएको छ । पैसा कमाउने लोभले दलाललाई २ लाख २० हजार रुपैयाँ बुझाएर भारतको नयाँदिल्ली हुँदै खाडी मुलुक युएई जान हिँडेकी मोरङ सुन्दरहरैचाकी ३२ बर्षीया महिलाको दुई महिनापछि उद्धार गरिएको हो ।

उर्जेन लामा नाम गरेका व्यक्तिले वैदेशिक रोजगारीको प्रलोभनमा भारतको नयाँदिल्ली पुर्याएको र त्यहाँबाट पर्यटन भिसामा दुबई लैजाने बताएपनि झण्डै दुई महिनासम्म अलपत्र पारेपछि उनले उद्धारका लागि श्रममन्त्रीको सचिवालयमा रहेको गुनासो सेन्टरमा खवर गरेकी थिइन् । उनले लामो समय बन्धकजस्तै भएको र उपचार समेत नपाएको गुनासो गरेकी थिइन् ।

मन्त्री श्रेष्ठले नयाँ दिल्ली स्थित नेपाली दुतावास तथा प्रहरीको सहयोगमा उद्धारका लागि पहल गरेका थिए । स्थानीय एजेन्ट शम्भु लामालाई प्रहरीले नयाँदिल्लीमा पक्राउ गरी उनको रकम फिर्ता गराएको थियो । दिल्ली महिला आयोगको सहयोगमा बेचबिखन विरुद्ध कार्यरत संस्था ‘आफन्त नेपाल’ले उनलाई उद्धारपछि सेल्टरमा राखेको थियो । उद्धार गरिएकी महिलाले सोमवार मन्त्री श्रेष्ठलाई भेटी दलाललाई कारवाही गर्न माग गरिन् । प्रहरीले लामाको खोजी गरिरहेको छ ।

२०७२ सालमा नेपाली महिलालाई घरेलु कामदारका रूपमा खाडी मुलुक जान रोक लगाइएपछि दलालहरूले ग्रामीण भेकका अशिक्षित महिलालाई विभिन्न प्रलोभनमा भारत पुर्याउने र त्यहाँबाट खाडीलगायत देशमा पठाउने गरेको पाइएको छ । अहिले लाखौं महिला भारतीय बाटो हुँदै विदेशिन बाध्य छन् । महिलाहरूलाई विदेश पुग्ने क्रममा हुने दुःख र उत्पीडनबाट जोगाउन विद्यमान नीतिमा परिवर्तन जरुरी देखिएको मन्त्री श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति: १० फाल्गुन २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्