‘लिभिङ टुगेदर’बारे संसदीय समितिमा छलफल


 


काठमाडौँ, फागुन १०
पछिल्लो समय सहरी क्षेत्रमा लिभिङ टुगेदरमा बस्ने प्रचलन बढ्दो छ । लिभिङ टुगेदरको प्रचलन बढ्दै गर्दा विभिन्न समस्या पनि निम्तिन सक्ने भन्दै यसबारे स्पष्ट कानुन निर्माणबारे छलफल भएको छ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा सहभागीले लिभिङ टुगेदरबारे कानुनी व्यवस्था गर्न सुझाव दिएका छन् ।

बैठकमा नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले लिभिङ टुगेदरको प्रचलनमा नेपालमा बढ्दै गएको भन्दै त्यसले वैवाहिक तथा घरेलु कानुनहरूलाई प्रभावित बनाएको बताइन् । यसबाट कतिपय नकारात्मक घटना पनि भएको उल्लेख गर्दै उनले भनिन्, ‘हामीसँग वैवाहिक कानुन छन् । घरेलु कानुनहरू छन् । त्यसलाई पनि यसले प्रभावित पारिरहेको छ । लिभिङ टुगेदरको बारेमा कस्तो अवस्थामा बस्न पाउने र कस्तो अवस्थामा बस्न नपाउने भन्ने सन्दर्भमा पनि यसलाई स्पष्ट रुपबाट कानुन बनाउन जरुरी छ ।’

लिभिङ टुगेदरको बारेमा सरकारले एउटा स्पष्ट खाका कोरेर सदनमा छलफल गराउन आवश्यक रहेको उनको भनाइ छ । अर्की सांसद बिन्दा पाण्डेले लिभिङ टुगेदरबारे प्रभावकारी कानुन निर्माण गर्नका लागि मूल नेतृत्वको मानसिकता नै परिवर्तन हुनुपर्ने बताइन् ।

अधिवक्ता मोहनलाल आचार्यले लिभिङ टुगेदर अहिले निकै बढ्दै गएको देखिएको धारणा राखिन् । विवाहित पुरुषले नै पनि अविवाहित महिलालाई विवाह नै नभइ छुट्टै एउटा फ्ल्याट लिएर राख्ने धेरै उदाहरण रहेको बताउँदै उनले यस्ता समस्या समेट्न स्पष्ट ऐन बनाइए सहज हुने धारणा राखिन् ।

प्रकाशित मिति: १० फाल्गुन २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्