कांग्रेसको नीति : गठबन्धनभन्दा एमसीसी प्राथमिकतामा, ‘मुभ’ बढाउँदै प्रधानमन्त्री


 


काठमाडौँ, फागुन ११
अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषयमा पाँच दलीय सत्ता गठबन्धनमा विभाजन देखिँदै गर्दा सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस भने गठबन्धन जोगाउनेभन्दा एमसीसी पास गर्ने नीतिमा अघि बढेको छ ।

सत्तामा बस्ने र सरकारकै निर्णयका विपक्षमा नेता कार्यकर्ता उतार्ने सत्ताधारी सहयात्री दलहरूको व्यवहारबाट आजित बनेको कांग्रेस गठबन्धन जोगाउनेभन्दा एमसीसीलाई जसरी पनि संसद्बाट पास गर्ने नीतिसहित अघि बढेको हो ।

सोही नीतिअनुसार मंगलबार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसहितका नेताहरूसँग भेटघाट गरेका हुन् । प्रधानमन्त्री देउवालाई भेट्न ओली आफ्ना पार्टीका नेताहरूसहित बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री देउवाले आन्तरिक रूपमासमेत एमसीसी पास गर्ने गृहकार्यका लागि नेताहरूलाई खटाएका छन् भने उनले बालुवाटारमा दैनिकजसो गठबन्धनमा आबद्ध दलका नेताहरूलाई छुट्टाछुट्टै संवादसमेत जारी राखेका छन् ।

सरकारले गत ८ फागुनमा प्रतिनिधिसभा बैठकमा एमसीसीसम्बन्धी प्रस्ताव टेबल गरिसकेको छ । तर, टेबल गर्ने विषयमा सहमति दिएका दल र ती दलका शीर्ष नेतृत्व नै अहिले एमसीसीको विपक्षमा मतदान गर्ने भन्दै सरकारी नीतिकै विरोधमा छन् ।

प्रधानमन्त्रीनिकट रहेका कांग्रेसका एक नेता भन्छन्, ‘सरकारमा पनि बस्ने, सरकारको नीतिविरुद्ध पनि लाग्ने र गठबन्धन पनि जोगाउने भन्ने हुँदैन, कांग्रेसले अब विकल्पसहित अघि बढ्ने नीति लिन्छ, त्यो अवस्था बन्दै छ ।’ राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित मिति: ११ फाल्गुन २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्