सशस्त्र प्रहरी महानिरीक्षकविरुद्ध अख्तियारमा उजुरी


 


काठमाडौँ, फागुन १३
सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालको विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । १६ वर्षमा इन्स्पेक्टरबाट डीएसपीमा बढुवा हुन लागेकाहरूलाई नियमित बढुवा नगरेर आईजीपी निकट मानिसहरुले आर्थिक चलखेल गरेको उजुरकर्ताको आरोप छ । बढुवामा आर्थिक चलखेल गर्न संगठन भित्रबाट इन्स्पेक्टर नवराज गुरुङ र गणेश मल्ल तथा बाहिर नरेश भट्ट र सुमन अधिकारीलाई आईजीपीले नै प्रयोग गरेको उजुरकर्ताले दावी गरेका छन् ।

२०७८ चैत २७ मा अवकाशमा जान लागेका खनालले आर्थिक वर्ष २०७५–०७६ मा पोशाक शीर्षकमा विनियोजित रकम आर्थिक वर्षको अन्त्यमा विभिन्न शीर्षकमा रकमान्तर गरी दुरुपयोग गरेको उजुरीमा उल्लेख गरिएको छ ।

अख्तियारमा परेको उजुरीमा भनिएको छ–‘इन्धनको झुटो बिल बनाएर प्रत्येक आर्थिक वर्षमा ६ करोड भन्दा बढी इन्धन बापतको रकम हिनामिना गरी आर्थिक अनियमितता गरिएको छ । सो कार्यमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा संचालित फ्युल स्टेशनबाट फर्जी विल बनाउने गरिन्छ ।’

सशस्त्रको ३ वटा गाडी र केही मोटरसाईकल भएको कार्यालयमा वार्षीक १० देखि १२ लाख मूल्य बराबरको इन्धनले पुग्छ । तर, त्यस्ता कार्यालयमा ८० लाखभन्दा बढी छुट्याएर फर्जी बिल बनाएर आइजी शैलेन्द्र खनालको ठाडो निर्देशनमा रकम असुल्ने गरेको दावी गरिएको छ ।

प्रकाशित मिति: १३ फाल्गुन २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्