धनुषामा मुखियामाथि गोली प्रहार गर्ने युवक पक्राउ


 


काठमाडौँ, फागुन २४
धनुषामा आफ्नै साथीमाथि गोली प्रहार गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर १९ शिवपुरका करिब २५ वर्षीय रुपेश यादव रहेको प्रहरीले जनाएको छ ।

यादवलाई आइतवार साँझ घटना पश्चात भारत तर्फ भाग्दै गरेको अवस्थामा धनौजी गाँउपालिका वडा नम्वर ४ स्थित नेपाल भारतको सिमा क्षेत्रमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।

शनिवार राति कमला नगरपालिका वडा नम्वर ८ मा घर भई जनकपुरधाम–१९ मा आफ्नो मामाको घरमा बस्दै आएका १८ वर्षीय मुकेश मुखियामाथि गोली प्रहार भएको थियो ।

अनुसन्धान गर्दा गोली लागेका मुकेश मुखिया र गोली हान्ने रुपेश यादव साथी रहेकोमा मुकेश आफ्नो मामाको किराना पसलमा बसिरहेको अवस्थामा रुपेशले ल्याएको पेस्तोल ल्याएकोमा त्यसै पेस्तोलबाट गोली चल्दा मुखिया गम्भीर घाइते भएको प्रवक्ता बस्नेतले बताए ।

उनले दुवै जना साथी नै रहेको र तिनीहरुबीच कुनै विवाद नरहेको भन्दै खेलाँचीमै गोली लागेको अनुसन्धानबाट खुलेको बताए । गोली लागि गम्भीर घाइते भएका मुकेशको हाल काठमाण्डौ स्थित नर्भिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २४ फाल्गुन २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्