स्थानीय तह निर्वाचनका लागि संसदीय समिति गठन गर्दै कांग्रेस


 


काठमाडौं । सत्तारूढ दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ११ गते बस्ने भएको छ । सो बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार तय गर्न संसदीय समिति गठनको निर्णय गर्नेछ ।

काँग्रेसका मुख्यसचिव एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले चैत ११ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बस्ने तय भएको बताए ।

उनका अनुसार, बैठकमा स्थानीय तह निर्वाचनको तयारीका सन्दर्भमा छलफल हुनेछ । साथै ुघर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा पनि बैठकमा हुनेछ ।

बैठकले संसदीय समिति गठनका विषयमा छलफल गरी निर्णय गर्नेछ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा काँग्रेसले संसदीय समिति गठनको तयारी गरेको हो ।

संसदीय समितिमा केन्द्रीय पदाधिकारीसहित २५ जना रहने व्यवस्था छ । उक्त समितिले उम्मेदवार तय गर्ने र टिकट वितरण गर्ने कार्य गर्नेछ । काँग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर फागुन २९ गतेदेखि चैत २९ गतेसम्म एक महिने अभियान सञ्चालन गरिरहेको छ । गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति: ६ चैत्र २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्