काठमाडाैंको मेयरका लागि एमालेले सिफारिस गरेका उम्मेदवार यस्ता छन्


 


काठमाडौं, वैशाख २
नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको छ।

एमाले काठमाडौं नगर कमिटीले विद्यासुन्दर शाक्य, रामवीर मानन्धर, केशव स्थापित, निर्मल देउला र ईन्दिरा पन्तको नाम जिल्लामा सिफारिस गरेको छ।

पूर्वमन्त्री मानन्धर पनि मेयरको दौडमा छन्। बागमती प्रदेश सभा सदस्य स्थापित पनि मेयर हुन खोजिरहेका छन्। उनले वडा वडा पुगेर जनताका समस्या र पार्टीले गर्नुपर्ने कामबारे छलफल गर्दै आएको बताइरहेका छन्।

नगर कमिटी अध्यक्ष देउला र जिल्ला कमिटी सदस्य पन्त पनि मेयरका लागि पहल गरिरहेका छन्। यी पाँच जनाको नाम जिल्ला कमिटीमा पठाइएको र त्यहाँबाट केन्द्रमा सिफारिस गरिनेछ।

जिल्लाले उम्मेदवार सिफारिसमा परेकाबारे रायसहित प्रदेशलाई जानकारी दिनेछ। प्रदेशले नाम केन्द्रमा पठाएपछि केन्द्रले उम्मेदवार तय गर्नेछ।

उपमेयरमा भने नाम सिफारिस भइसकेको छैन। अध्यक्ष देउलाले उपमेयरका लागि छलफल भइरहेको बताए। महानगरका १६ वडाका लागि वडाध्यक्षमा नाम तय गरिसकिएको पनि उनले बताए। अरू वडाका लागि छलफल जारी रहेको उनको भनाइ छ।

वैशाख ३० मा हुने स्थानीय चुनावका लागि वैशाख ११ मा उम्मेदवारले मनोनयन पत्र दर्ता गर्नुपर्ने हुन्छ। एमालेले स्थानीय तहमा सर्वसम्मत तरिकाले उम्मेदवार छान्ने भने पनि पहिले आफूले जितेका क्षेत्रमा भने एकभन्दा बढीका नाम सिफारिस भइरहेका छन्।

प्रकाशित मिति: २ बैशाख २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्