आमचोकमा कांग्रेसबाट अध्यक्षको उम्मेदवार नरहेको घोषणा, एमाले उम्मेदवारलाई मतदान गर्न अपील


 


भोजपुर, वैशाख १८
भोजपुरमा नेपाली कांग्रेसका उम्मेदवारले एमाले उम्मेदवारलाई जिताउन अपील गरेका छन् । भोजपुरको आमचोक गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार भगवती राईले विज्ञप्ती निकालेर एमालेबाट अध्यक्षका उम्मेदवार रहेका वसन्त राईलाई मतदान गर्न अपील गरेकी हुन् ।

यो गाउँपालिकामा स्थानीय आवश्यकताका आधारमा एमाले र कांग्रेसको गठबन्धन गर्ने सहमति थियो ।

तर कांग्रेस र माओवादीका जिल्ला तहका नेताले बन्धक बनाएर उम्मेदवारी फिर्ता लिन नदिएपछि स्थानीय तहमा कांग्रेसले विद्रोह नै गरेको छ ।

आमचोक गाउँपालिकामा नेपाली काँगेस अध्यक्ष पदकी उम्मेदवार भगवती राईले विज्ञप्ती जारी गर्दै माओवादी केन्द्रका भोजपुर इन्चार्ज सुदन किराती र नेपाली काङ्ग्रेसका सभापति विनोद बान्तावाले आफूलाई कोठामा थुनेर बन्धक बनाएर उम्मेदवारी फिर्ता लिनबाट रोकेको जनाएकी छन् ।

गठबन्धनमा रहेका नेताको षडयन्त्रका कारण उम्मेदवारी फिर्ता नभए पनि आफु अध्यक्षको उम्मेदवार नरहेको समेत विज्ञप्तिमा उल्लेख छ ।

आफ्नो तर्फबाट निर्वाचनको कुनै पनि प्रसार नगर्ने बताउँदै राईले निर्वाचनमा एमाले तर्फका अध्यक्षका उम्मेदवार बसन्त राईलाई सूर्यमा र उपाध्यक्षमा काङ्ग्रेस तर्फका उम्मेदवार छिरिङ शेर्पालाई रुखमा भोट हाल्न समेत मतदातालाई अपील गरेकी छिन् ।

स्थानीय स्तरमा यहाँको काङग्रेसले शुरुमा एमालेसँग भएको सहमति अनुसार उम्मेदवारी फिर्ता लिन खोजेको थियो । तर उम्मेदवारी फिर्ता लिने समयसम्म गठबन्धनका नेताहरुले भगवतीलाई बन्धक बनाएका थिए ।

९ वटा स्थानीय तह रहेको भोजपुरमा २०७४ सालको स्थानीय निर्वाचनमा माओवादीले अध्यक्ष जितेको एक मात्र पालिका आमचोक गाउँपालिका हो ।

भगवती राईले निकालेको विज्ञप्ति यस्तो छ

प्रकाशित मिति: १८ बैशाख २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्