रुपन्देहीको रोहिणी नदीमा बस खस्यो : ९ जनाको मृत्यु, २४ घाइते


 


काठमाडौं, जेठ २२
रुपन्देहीमा रोहिणी नदीमा यात्रुबस खस्दा ९ जनाको मृत्यु भएको छ ।

जनकपुरबाट भैरहवातर्फ आइरहेको यात्रुसहितको लु २ ख ३८४१ नम्बरको बस आइतवार बिहान परासी भैरहवा हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको हो । भने अन्य २४ जना घाइते भएका छन् ।

घाइतेमध्ये १५ जनाको अवस्था चिन्ताजनक रहेको र ९ जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मृतक र घाइतेको सनाखत हुन बाँकी छ।

बस रुपन्देहीको रोहिणी गाउँपालिका-४ र ओमसतिया गाउँपालिका-४ को सीमामा पर्ने रोहिणी नदीमा खसेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उद्धार गरि अस्पताल पुर्‍याइएको डीएसपी पौडेलले बताए।

घाइतेहरूको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । जेसीभीको माध्यमबाट दुर्घटनामा परेको बसलाई पल्टाएर यात्रुको उद्धार गर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २२ जेष्ठ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्