लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वलीविरुद्ध मिनाले दिइन उजुरी


 


काठमाडौं, असार १
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीविरुद्ध मीना भण्डारी बस्नेतले अभद्र व्यवहारमा जाहेरी दिएकी छन् । मंगलबार बिहान पक्राउ परेकी वलीविरुद्ध मीनाले अपरान्ह इलाका प्रहरी कार्यालय तुलसीपुरमा वलीविरुद्ध जाहेरी दिएकी हुन् ।

मीनाले आफू र छोरीमाथि अनाहकमा बेडरुममै पसेर कुटपिट गरेको तथा घरका सरसामान जथाभाबी फालिदिएको भन्दै वलीविरुद्ध किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।

मीनाका पति एकराज बस्नेत भने सम्पर्कविहीन रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । राज्यमन्त्री वलीलाई बुटवल पठाइएको छ ।

विमलाले बिहान तुलसीपुर नगरपालिका वडा नम्बर ५ का एकराज बस्नेतको घरमा गएर एकराजकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई हातपात गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

विमलाको कुटाइबाट मीनाको अनुहार र छातीमा चोट लागेको र कपडा च्यातिएको प्रहरीले जनाएको छ । राज्यमन्त्री वलीले एकराज बस्नेत आफ्नो श्रीमान् रहेको दाबी गर्दै आफूहरूमाथि कुटपिट गरेको पीडित मीना भण्डारीको भनाइ छ ।

प्रकाशित मिति: १ असार २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्