कक्षा ५ मा पढ्दै ६१ वर्षीय रिमबहादुर



दाङ, असार २४
कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल सेताम्मे भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन् । अरु विद्यार्थी सरह उनको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ ।

दाङको बबई गाउँपालिका–५ स्थित जनज्योति आधारभूत विद्यालयको कक्षा ५ मा दिनहुँ देखिने दृश्य हो यो । उक्त दृश्यले हिजो आज सबैलाई आश्चर्यचकित बनाएको छ । यसले सबैलाई खुसी तुल्याएको छ । बबई गाउँपालिका–५ सिमगैराका ६१ वर्षीय रिमबहादुर खड्का कक्षा ५ मा अध्ययन गर्दै छन्। पढ्न उमेरले छेक्दैन भन्ने चरितार्थ उनले सत्य सावित गरेका छन् ।

रिमबहादुर सानैमा विद्यालय जान पाएनन् । विद्यालय जाने उमेरमा उनलाई घरको कामले फुर्सद भएन । कक्षा १ पनि नपढेका रिमबहादुर यस वर्ष सोझै कक्षा ५ मा भर्ना भएर नियमित विद्यालय गइरहेका छन् ।

आर्थिक अवस्था कमजोर भएकाले बाल्यकालमा विद्यालय गएर पढ्न नपाएको रिमबहादुर बताउछन् । “अरु भाइहरूलाई पढाउन मै व्यस्त रहे, घरको कामबाट कहिल्यै छुटकारा पाइएन”, उनले विगत सुनाए ।

रिमबहादुर बुढेसकालमा विद्यालय गएर पढ्न थालेकामा ६१ वर्षीया श्रीमती लालमती खड्का पनि खुसी छिन् । श्रीमानको पढ्ने इच्छामा सहयोग गर्ने उनले बताइन् । “पढ्ने इच्छा पहिल्यैदेखिको हो, यसमा म सहयोग गर्छु, दिउँसो घरको काम म आफैँ गर्छु”, लालमतीले भनिन् । श्रीमान् विद्यालय गएको देख्दा आफूलाई पनि पढ्ने इच्छा जागेको उनको भनाइ छ ।

रिमबहादुर कक्षामा छँदा बालबालिकाले हो–हल्ला पनि कम गर्ने गरेको विद्यालयका शिक्षकहरू बताउँछन् । प्रधानाध्यापक कुम्भकर्ण खत्रीका अनुसार रिमबहादुर पढ्न आउँदा सुरुमा सबैलाई अनौठो लागेको थियो । “यो उमेरमा पढ्न आउँदा हामी सबै खुसी छौँ”, उनले भने । शिक्षक–शिक्षिकालाई पनि सुरु–सुरुमा रिमबहादुर आउँदा पढाउन अप्ठ्यारो लागेको खत्री बताउछन् । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News