चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख किन आउँदैछन् नेपाल ?


 


काठमाडौं, असार २४
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओले जिम्मेवारी सम्हालेपछिको पहिलो विदेश भ्रमणका लागि नेपाललाई रोजेका छन् ।

जुनको पहिलो सातादेखि मात्रै पार्टी विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेका जियानचाओले पहिलो विदेश भ्रमणका लागि नेपाल रोज्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

भ्रमणबारे औपचारिक रुपमा जानकारी दिइएको छैन । तर त्यसको पुष्टि गर्दै काठमाडौंस्थित चिनियाँ राजदूतावास स्रोतले भन्यो, ‘जिम्मेवारी सम्हालेपछि भाइचारा र पार्टी सम्बन्ध भएका सबै जसो मुलुकमा भ्रमण, भेटघाट र प्रत्यक्ष कुराकानी गर्ने चलन छ । नेपाल त्यो प्रक्रियाको पहिलो देश भएको छ । यसको मतलब चीनले नेपाललाई प्राथमिकतामा राखेको छ भन्ने सन्देश दिन खोजिएको पनि हो ।’

परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार पनि चार दिने नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने निश्चित भएको छ । साथै, सभामुख अग्नी प्रसाद सापकोटासँग पनि उनको भेटघाट हुनसक्ने बताइएको छ भने अन्य भेटका कार्यक्रम अझैं तय भइसकेका छैनन् ।

प्रकाशित मिति: २४ असार २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्