डिएसपीबाट एसपी बढुवामा देउवाका पीएसओ एक नम्बरमा


 


काठमाडौं, असार ३०
नेपाल प्रहरीका ३६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवाको लागि सिफारिस भएका छन् ।

सिफारिस सूची अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाका अंगरक्षक (पीएसओ) कोमल शाह पहिलो नम्बरमा पर्दा डीएसपीमा एक नम्बरमा बढुवा भएका २०६१ सालको भर्ना ब्याचका गौतम केसी र अपिल बोहोरा भने एसपी बढुवाको सिफारिसमा छुटेका छन् ।

बुधबार प्रहरी प्रधान कार्यालयले ३६ जना एसपीका लागि गरिएको सिफारिसमा शाह आफ्नो भर्ना ब्याचबाट पहिलो नम्बरमा सिफारिस भएका हुन् । शाह प्रहरी निरीक्षकको योग्यता क्रममा ३१ औं नम्बरमा थिए भने डीएसपीमा बढुवा हुँदा आफ्नो भर्ना ब्याचको २५ औं नम्बरमा थिए ।

शाह २४ स्थान माथि उक्लिएका हुन् । २०६१ सालमा प्रहरी निरीक्षकमा नाम निकालेकामध्ये अहिले १६ जना एसपीका लागि सिफारिस भएका छन् । एसपीका लागि सिफारिस भएका बाँकी २१ जना अघिल्लो भर्ना तथा इन्स्पेक्टर ब्याचबाट छुटेकाहरू हुन् ।

२०६१ सालमा प्रहरी निरीक्षकमा नाम निकाल्नेमध्ये एसपी सिफारिसमा पहिलो नम्बरमा टेकुनन्द इवा लिम्बू र दोस्रो नम्बरमा शाह छन् ।

तर, लिम्बूले २०५१ सालमा सेवा सुरु गरेकाले दुई वर्षपछि अवकाश पाउँदैछन् ।

बढुवा सिफारिसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्वपीएसओ नरेशराज सुवेदी पनि परेका छन् । उनी आफ्नो इन्स्पेक्टर ब्याचमध्ये तेस्रो नम्बरमा रहेर एसपीका लागि सिफारिस भएका छन् । यसअघि उनी डीएसपीमा चौथो नम्बरमा थिए ।

प्रकाशित मिति: ३० असार २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्