पूर्वअर्थमन्त्री जनार्दन प्रकरण : फुटेज रिकभर गर्न हार्डडिस्क प्रहरीको ल्याबमा पठाइने


 


काठमाडौं, साउन ४
पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेज रिकभर गर्नको लागि नेपाल प्रहरीअन्तर्गतको फरेन्सिक ल्याबमा पठाउने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले जेठ १३ र १४ गतेको डिलिट भएको सिसिटिभी फुटेज रिकभर गर्न लागेको हो ।

आज बसेको समितिको बैठकले डिलिट भएको सिसिटिभी फुटेज रिकभर सम्भावना र उपायका विषयमा नेपाल प्रहरीअन्तर्गतको साइबर ब्यूरोका विज्ञ र इन्जिनियरिङ अध्ययन संस्थानमा कार्यरत विज्ञसँग सुझाव लिएको थियो ।

समितिका सचिव सुरेन्द्र अर्यालले समितिको बैठकमा विज्ञले डिलिट भएको सिसिटिभी फुटेज रिकभर हुने भए पनि रिकभर गर्ने अथोरिटी सफ्टवेयर आवश्यक हुने भएकाले सिसिटिभीको हार्डडिक्सको अवस्थामा भरपर्ने भन्दै फुटेज रिकभर गर्नको लागि नेपाल प्रहरीअन्तर्गतको फरेन्सिक ल्याबमा पठाउन उपयुक्त हुने सुझाव दिएको बताए ।

आजको बैठकले अर्थ मन्त्रालयको समग्र सिसिटिभी सिस्टमलाई फुटेज रिकभर गर्नको लागि प्रक्रिया पुर्‍याएर प्रहरीको फरेन्सिक ल्याबमा पठाउन निर्णय भएको उनले बताए । पूर्वअर्थमन्त्री शर्मामाथि जेष्ठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश गराएर बजेटमा करको दर हेरफेर गरिएको आरोप छ ।

प्रकाशित मिति: ४ श्रावण २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्