युवती प्रयोग गरी युवकको अपहरण : बन्धक बनाइ ७ लाख फिरौती, संलग्न ६ जना पक्राउ


 


दाङ । युवतीको प्रयोग गरी व्यक्ति अपहरणपछि फिरौती माग्ने समूह दाङमा पक्राउ परेको छ । दैलेखको चामुण्डाबिन्द्रसैनी नगरपालिका ३ का २७ वर्षीय युवकलाई भेट्न बोलाएर अपहरण गरी फिरौती माग्ने ६ जनालाई प्रहरीले मङ्गलवार पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई तुलसीपुरको एक होटलबाट पक्राउ गरेको हो । दाङको बबई गाउँपालिका ४ की ३५ वर्षीय लीला विक, त्यही ठाउँकै ३५ वर्षिय नेबबहादुर घर्ती, तुलसीपुर ४ का २५ वर्षीय सुक्लालाल विक, कपिलवस्तुको शिवराज नगरपालिका ७ का २० वर्षीय मनोज थारु पक्राउ परेका हुन् ।

यस्तै प्रहरीले प्युठानको गौमुखी गाउँपालिका ७ घर भइ दाङको तुलसीपुर ६ बस्ने २४ वर्षीय जनक कुँवरलाई पक्राउ गरेको छ । कुँवर बाग्मती प्रदेश ०१–०२५ च ८७२९ नम्बरको गाडीका चालकसमेत रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्सपेक्टर बखतबहादुर शाहीले जानकारी दिए । यस्तै प्रहरीले फोन गरी भेट्न बोलाउने तुलसीपुर ७ का २६ वर्षीया निर्मला विकलाई पनि पक्राउ गरेको छ ।

निर्मलाले अपहरणमा पर्ने युवकलाई हिजो सोमवार राति नौ बजेतिर बुटवलमा भेट्न बोलाएकी थिइन् । दैलखबाट बुटवलमा भेट्न आएका युवकलाई युवतीसँग भेट भएपछि ६ जनाको समूहले अपहरण गरी आज तुलसीपुर ल्याएका थियो ।

त्यसपछि युवकलाई तुलसीपुरको एक होटेलमा राखेर सात लाख रुपैयाँ फिरौती मागेका थिए । फिरौती नदिए जे पनि हुन सक्ने भन्ने परिवारमा फोन गएपछि कुमारकी श्रीमतीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

दिउँसो ४ बजेपछि प्रहरीमा जानकारी आएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् डीएसपी श्यामु अर्यालको नेतृत्वमा खटिएको टोलीले होटलबाट केशवलाई उद्धार गरेको हो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ११ श्रावण २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्