अमेरिकी सहायकमन्त्री लु आज आउँदै


 


काठमाडौँ, साउन १२
अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा संलग्न नहुने मन्त्रिपरिषद्को निर्णयबारे पत्राचार अड्किरहेका बेला दक्षिण तथा मध्यएसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौंमा उत्रँदै छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदन प्रक्रिया अघि नबढिरहेका बेला गत वर्ष मंसिर १ मा पनि उनी नेपाल आएका थिए ।

संसद्ले एमसीसी सम्झौता अनुमोदन गरेको चार महिना र एसपीपीमा संलग्न हुने निर्णय गरेको एक महिनापछि लुको नेपाल भ्रमण हुन लागेको हो । स्रोतका अनुसार दुईदिने नेपाल भ्रमणका क्रममा लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भएको छ । परराष्ट्र मन्त्रालयले भने लुको भ्रमण र एजेन्डाबारेमा केही सार्वजनिक गरेको छैन ।

लुले एमसीसी सम्झौताका विषयमा गत माघ २७ मा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग टेलिफोन संवाद गरेका थिए । यो संवादमा लुले ‘एमसीसी फिर्ता भए राम्रो नहुने’ चेतावनी दिएको नेताहरूले बताएका थिए । लगत्तै चीनले अमेरिकी अधिकारीले एमसीसी सम्झौता अनुमोदन गर्न ‘जबर्जस्ती कूटनीति’ गरेको टिप्पणी गरेको थियो । यता चीनबाट पनि समानान्तर भ्रमण भइरहेका छन् ।

असार अन्तिम साता बेइजिङबाट चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानछाओको नेपाल भ्रमणलगत्तै अमेरिकाबाट उच्चस्तरको भ्रमण हुन लागेको हो ।

एमसीसी र एसपीपीमा अमेरिकाको गहिरो चासो छ । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले एसपीपीमा सहभागिताका लागि अमेरिकी राजदूतलाई २०७५ कात्तिक १० मा पत्र लेखेका थिए । उक्त पत्रमा ‘सरकारको स्वीकृति’ रहेको उल्लेख छ । त्यतिबेला एमाले अध्यक्ष ओली प्रधानमन्त्री एवं रक्षामन्त्री थिए । तत्कालीन प्रधानसेनापति क्षत्रीले माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री भएका बेला २०७४ वैशाख र कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएका बेला २०७४ माघमा पनि एसपीपीमा सहभागिताका लागि अमेरिकालाई पत्राचार गरेको खुलेको छ ।

नेपाली सेनाबाट प्राप्त पत्रका आधारमा नेपाल सन् २०१९ देखि एसपीपीको सदस्य भएको अमेरिकी भनाइ छ । इन्डो–प्यसिफिक रणनीति (आईपीएस) मातहतको कार्यक्रम एसपीपीमा नेपाल पनि साझेदार रहेको खुलासा अमेरिकी प्रतिवेदनले गरेपछि ओली नेतृत्वको तत्कालीन सरकारले परराष्ट्र सचिवको नेतृत्वमा अध्ययन कार्यदल बनाएको थियो, जसमा गृह सचिव र प्रधानसेनापति सदस्य थिए ।

कार्यदलले एसपीपीजस्ता सैन्य साझेदारी कार्यक्रममा नेपाल सहभागी हुन नमिल्ने प्रतिवेदन दिए पनि सरकारले पत्राचार गरेको थिएन । यो विषय डेढ महिनाअघि सतहमा आएपछि चौतर्फी आलोचना भएको थियो, जसका कारण सरकारले असार ६ मा एसपीपीमा सामेल नहुने र पत्राचार गरेर अमेरिकालाई जानकारी दिने निर्णय गरेको थियो । तर परराष्ट्र मन्त्रालयले अहिलेसम्म पनि पत्राचार गरेको छैन ।

सरकारले अमेरिकालाई पत्र नपठाएको विषयमा संसद् र सार्वजनिक मञ्चमा आलोचना भइरहेको छ । यही बीचमा अमेरिकी सहायकमन्त्री लु आउन लागेका हुन् । अन्तर्राष्ट्रिय मामिला जानकार सांसद दीपकप्रकाश भट्ट एसपीपीका सम्बन्धमा आफ्नो कुरा स्पष्ट पार्न उनी आउन लागेको हुन सक्ने बताउँछन् । ‘अमेरिकीहरूको परराष्ट्र नीति स्पष्ट छ । बाहिरबाट भन्दा भेटेरै भन्न आउन लागेको देखिन्छ,’ उनले भने ।

पछिल्लो समय अमेरिकाबाट लगातार नेपाल भ्रमण भइरहेको छ । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए. फ्लिन चारदिने औपचारिक भ्रमणका लागि गत जेठ २६ मा आएका थिए । त्यसअघि अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री उज्रा जियाले जेठ ६ देखि ८ सम्म नेपालको भ्रमण गरेकी थिइन् । उनले नेपालका तिब्बती शरणार्थी शिविरमा पुगेर भेटवार्ता गरेको विषयमा टीकाटिप्पणी पनि भएको थियो ।

वैशाख ९ देखि ११ सम्म सिनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा ५ सदस्यीय टोलीले नेपालको भ्रमण गरेको थियो । दक्षिण तथा मध्यएसिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङ तीनदिने भ्रमणका लागि वैशाख ६ मा आएकी थिइन् । अमेरिकाले भने बाक्लो भ्रमणलाई नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठसँग जोड्ने गरेको छ ।

परराष्ट्र मामिलाविज्ञ तथा देउवाका अघिल्लो कार्यकालका परराष्ट्र सल्लाहकार दिनेश भट्टराई विदेशबाट हुने यस्तो भ्रमणलाई सामान्य मान्छन् । ‘आउने–जाने त भइहाल्छ । स्वाभाविक नै हो,’ उनले भने, ‘भ्रमणको एजेन्डा के हो भन्ने मुख्य कुरा हो ।’

उनले अहिलेको सन्दर्भमा भइरहेको भ्रमणलाई विभिन्न तहबाट हेर्न सकिने बताए । ‘भूराजनीतिक अवस्थामा संवेदनशीलता बढेको छ । तर उहाँ (लु) केही सन्देश लिएर आउँदै हुनुहुन्छ होला,’ उनले भने, ‘तर कोही आउँदैमा हामी आत्तिनु पर्दैन । नेपालले आफ्नो कुरा गर्ने हो ।’

प्रकाशित मिति: १२ श्रावण २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्