काठमाडौंको फोहोर व्यवस्थापनमा चुक्दै मेयर बालेन


 


काठमाडौं, साउन २७
काठमाडौं महानगरपालिका प्रमुख बालेन साह फोहोर व्यवस्थापनमा ‘असफल’ देखिएका छन् । लामो समयसम्म फोहोर व्यवस्थापन हुन नसकेपछि महानगरपालिकाका वडाहरू नै आलोचनामा उत्रिन थालेका छन् । उपत्यकाका चोक तथा सडकमा करिब एक महिनादेखि फोहोर थुप्रिएका छन् ।

लामो समय फोहोर उठ्न नसक्दा महानगरमा दुर्गन्ध फैलिएको छ । ‘फोहोरका कारण हैजा फैलन थालेको’ भन्दै विज्ञ चिन्ता व्यक्त गरिरहेका छन् । प्रमुख साह भने ‘लामो समय फोहोर नउठ्दा’समेत व्यवस्थापनमा सक्रिय नदेखिएको पाइएको छ ।

महानगर प्रमुख निर्वाचित भएलगत्तै सक्रिय देखिएका साहमाथि पछिल्लो समय भने ‘सम्झौताक्रममा गरेका प्रतिबद्धता पूरा गर्ने र समस्या समाधानमा निष्क्रिय देखाएको’ आरोप लागेको छ । नगरकार्यपालिकाको बिहीबार बसेको बैठकमा वडाध्यक्षले प्रमुख साहको ‘एक्लै हिँड्न खोजेको, सहकार्य नगरेको, फोहोर व्यवस्थापनसम्बन्धी काम जानकारी नदिएको’ भन्दै चर्को आलोचना गरेका छन् ।

वडा १० अध्यक्ष रामकुमार केसीले ‘प्रमुखले एक्लै हिँड्न खोज्दा समस्या समाधान हुन नसकेको’ भन्दै ‘टिमवर्कमा काम गर्न’ आग्रह गरेका छन् । ‘प्रमुख असफल भए सिंगो महानगर जनप्रतिनिधि असफल हुने’ उनको भनाइ छ ।

‘पहिलो कार्यपालिका बैठकले फोहोरमैला व्यवस्थापनका लागि समिति बनाए पनि अहिलेसम्म बैठक नबोलाइएको’ समेत बैठकमा आलोचना भएको छ । कार्यपालिका सदस्यहरूले ‘गाईजात्रा, इन्द्रजात्राजस्ता पर्व आइसकेकाले रातारात फोहोर नउठाए समस्या आउने’ औंल्याएका छन् । राजधानी दैनिकबाट

प्रकाशित मिति: २७ श्रावण २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्