काठमाडौंको फोहोर बञ्चरेडाँडामा फाल्न अवरोध नगर्ने चार बुँदे सहमति


 


काठमाडौं, भाद्र २
काठमाडौंको फोहोर बञ्चरेडाँडामा फाल्ने क्रममा भइरहेको अवरोध हटाउन चार बुँदे सहमति भएको छ ।

उपत्यकाको फोहोर बञ्चरेडाँडामा लैजाँदा उत्पन्न समस्याबारेमा छलफल गर्न बसेको काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित पालिकाका पदाधिकारीको बैठकले चार बुँदे सहमति गरेको हो ।

फोहोर बोकेर आएको गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, जथाभाबी फोहोर फाल्न नपाउने, बञ्चरेडाँडामा फोहर थुपार्ने ठाउँमा गन्ध नआउने औषधि छर्किनुपर्ने र गएको जेठ २६ गते भएको सहमति कार्यान्वयन गर्दै जाने सहमति भएको छ ।

बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल र धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल सहभागी थिए ।

यस्तै छलफलमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनीबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यलगायत जनप्रतिनिधि तथा केही स्थानीयवासीको पनि सहभागीता रहेको थियो ।

प्रकाशित मिति: २ भाद्र २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्