धर्मपुत्री बनाएर विदेश लैजान खोज्ने बेलायती नागरिक पक्राउ


 


काठमाडौं, भाद्र ६
कालीकोटकी १५ वर्षीया नाबालिकालाई धर्मपुत्री बनाएर स्वीट्जरल्याण्ड लैजान खोज्ने तीन जना बेलायती नागरिकविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले अध्यागमन कार्यालयका कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा मुद्दा दर्ता भएको पुष्टि गरे।

पक्राउ परेका म्याथ्यु विलियम हर्ले, लुइजा जेन हर्लेसहित तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यलयबाट दुई दिनको म्याद थप गरिएको छ। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार म्याथ्यु विलियम हर्ले पछिल्लो ८ वर्षमा ४० पटक नेपाल आएका छन्। सन् २०१४ देखि हालसम्म उनी ४० पटक नेपाल आएको र कुनै बेला दुई दिनमै पनि फर्किएको रेकर्ड देखिएको प्रहरी स्रोतले बतायो।

‘८ वर्षमै यति धेरैपटक किन नेपाल आयो होला भन्ने रेकर्डले हामी अचम्मित छौं। त्यसमाथि धर्मपुत्री बनाएर लैजाँदै गर्दा पक्राउ परेका छन्। हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने।

यसरी खुल्यो रहस्य
अवैध ढंगले एक नाबालिकालाई धर्मपुत्री बनाएर स्वीट्जरल्याण्ड लैजान खोज्ने बेलायतका तीन जना नागरिकले शनिबार विमान त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा नराम्रो हर्कत देखाए।

बेलायती दम्पती म्याथ्यु विलियम हर्ले र लुइजा जेन हर्ले धर्मपुत्री बनाएको भन्दै कालिकोटकी १५ वर्षीया सिंह थर (नाम गोप्य राखिएको) भएकी नाबालिकालाई स्वीट्जरल्याण्ड लैजान शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

फ्लाई दुबईको जहाजबाट उनीहरु स्वीट्जरल्याण्ड जाने तयारीमा थिए। बोर्डिङ पासको काम सकाएर जब उनीहरु अध्यागमनका अधिकारीहरुसमक्ष पुगे, त्यसपछि ती बेलायतीहरुले लफडा गर्न थाले। कालिकोटकी ती सिंह थरकी नाबालिकालाई आफूहरुले धर्मपुत्री स्वीकारेर लैजान लागेकाले प्रस्थान अनुमति दिन अध्यागमनका अधिकारीसमक्ष ती बेलायतीहरुले आग्रह गरे।

ती नाबालिकाले समेत बेलायती नागरिक म्याथ्यु र लुइजा आफ्ना धर्म आमा-बाबु भएको अध्यागमनका अधिकारीहरुसमक्ष बताइन्। अध्यागमनका अधिकारीहरुले धर्मपुत्री बनाउन आवश्यक पर्ने कागजात मागे। तर, ती बेलायतका नागरिकहरुले कुनै कागजपत्र पेस गर्न सकेनन्। अध्यागमनका अधिकारीहरुले मानव बेचबिखन भएको हुनसक्ने अनुमान गरे र ती बेलायतका नागरिकमाथि थप सोधखोज गर्न थाले।

अध्यागमन स्रोतका अनुसार नाबालिका स्वयंले अध्यागमनका अधिकारीहरुसमक्ष आफूलाई बेलायतीहरुले धर्मपुत्री स्वीकारेको बताइन्। तर धर्मपुत्री बनाउन आवश्यक पर्ने नाबालिकाको बुबा-आमाको सहमति, सम्बन्धित पालिकाको सिफारिसलगायतका आवश्यक कागजात, नेपाल सरकारको स्वीकृती पेस गर्नु अनुरोध गर्दा ती बेलायतीहरुले अध्यागमनका अधिकारीहरुमाथि कुटपिट गरेको स्रोतको भनाइ छ।

बालिकालाई उनीहरुले बलजफ्ती लैजान खोजेका थिए। ‘बलजफ्ती धर्मपुत्री बनाएर नाबालिकालाई लैजान खोजेपछि हामीले रोकेका हौं,’ अध्यागमनका एक वरिष्ठ अधिकारीले अन्नपूर्णसँग भने, ‘आवश्यक कागजात मागेपछि उनीहरुले पेस गर्न सकेनन्। अध्यागमनका कर्मचारीमाथि कुटपिटमा उत्रिए।’

अध्यागमन कार्यालयले थप कारबाही र अनुसन्धानका लागि उनीहरुको राहदानी र मोबाइलसमेत जफतमा लिएर प्रहरीलाई बुझाएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता ध्रुबराज पण्डितले धर्मपुत्र वा धर्मपुत्री बनाएर कुनै विदेशीले नेपाली बालबालिका लैजान खोजे नेपाल सरकारले अनुमति नदिने बताए। प्रवक्ता पण्डितले भने, ‘अहिले धर्मपुत्र वा धर्मपुत्री बनाएर बालबालिका विदेश लैजाने व्यवस्था नै छैन। जबरजस्ती लैजान खाेजे त्यस्ता विदेशीलाई मानव बेचबिखनअन्तर्गत कारबाही हुनसक्छ।’

अध्यागमनका अधिकारीहरुले नाबालिका लैजान नपाउने भनेपछि ती बेलायतीहरुले डीयुटीमा रहेका अध्यागमनका कर्मचारीहरुलाई अभद्र व्यवहार, गालीगलौज, दुर्व्यवहार र निषेधित क्षेत्रमा जबर्जस्ती भिडियो खिच्ने र त्यस्ता गतिविधि नगर्न अनुरोध गर्दा कर्मचारीलाई उनीहरुले कुटपिटसमेत गरेका थिए।

अराजक व्यवहार देखाउन थालेपछि अध्यागमनका अधिकारीहरुले तत्काल उनीहरुलाई पक्राउ गरेको हो। फ्लाई दुबईको एफजेड५७२ नम्बरको उडानबाट उनीहरु स्वीट्जरल्याण्ड जाने तयारीमा थिए। पक्राउ पर्नेमा बेलायती राहदानी बाहक म्याथ्यु विलियम हर्ले, लुईजा जेन हर्ले र जेड लुका हर्ले रहेका छन्।

प्रकाशित मिति: ६ भाद्र २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्