अस्ट्रेलिया जान खाेजेका विद्यार्थीले किन पाएनन् भिसा ?


 


काठमाडाैँ, भाद्र ७
वैदेशिक अध्ययनका लागि केही महिनाअघि सबैभन्दा धेरै नेपाली विद्यार्थीले आवेदन गरेको र भिसासमेत प्राप्त गरेको अस्ट्रेलियामा अहिले भिसा रिजेक्सन (अस्वीकार) उच्च छ । भोकेसनल एजुकेसन एण्ड ट्रेनिङ (भेट)का लागि भएको आवेदनको झण्डै ९० प्रतिशत भिसा रिजेक्सन भएको छ । उच्च शिक्षाका लागि आवेदन गर्नेको भिसा प्राप्ती भने तुलनात्मक रुपमा केही धेरै छ ।

शैक्षिक परामर्श व्यवसायीहरू अहिले अस्ट्रेलियामा भेटका कोर्स अध्ययन गर्न आवेदन गर्नेको करिब १० प्रतिशतको मात्रै भिसा लागेको छ । उच्च शिक्षाको हकमा भने ५०–६० प्रतिशतको भिसा लागेको छ । ‘पछिल्लो समय अस्ट्रेलिया अध्ययनमा आवेदन गर्ने नेपाली विद्यार्थीको भिसा अस्वीकार अत्यधिक छ । भेट कोर्समा ९० प्रतिशतसम्म भिसा अस्वीकार भएका छन् । उच्च शिक्षामा यो दर ४० प्रतिशत रहेको अनुमान छ,’ राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)का अध्यक्ष सन्तोष प्याकुरेलले भने ।

कोभिडका कारण अन्तर्राष्ट्रिय विद्यार्थीको अध्ययन आगमन रोकेको अस्ट्रेलियाले खुला गरेलगत्तै ठूलो संख्यामा भिसा लागेको थियो, तर केही महिनायता यो दर निरन्तर घटिरहेको छ । गत जुन महिनामा भेट कोर्समा सबैभन्दा कम अर्थात् २२ प्रतिशत नेपाली विद्यार्थीको मात्रै भिसा लागेको छ । कुल पाँच हजार सात सय ४८ नेपाली विद्यार्थीले भिसा आवेदन गरेकामा दुई हजार पाँच सय आठ अर्थात् ४३.६३ प्रतिशतको भिसा लागेको थियो । यसमध्ये उच्च शिक्षातर्फ तीन हजार पाँच सय ७९ ले आवेदन गरेकामा दुई हजार १८ अर्थात् ५६.३८ प्रतिशतको भिसा लागेको थियो । भेटतर्फ दुई हजार एक सय ६३ आवेदनमध्ये चार सय ८५ अर्थात् २२.४२ प्रतिशतको मात्रै भिसा लागेको थियो । जुन महिनामै पोस्ट–ग्र्याजुयट रिसर्च क्षेत्रमा ६ जनाले आवेदन दिएकामा पाँचजनाको भिसा लागेको थियो ।

गत जनवरीदेखि जुनसम्म आवेदन गर्ने २१ हजार ६ सय ७१ जनाले आवेदन गरेकामा १४ हजार एक सय ३८ विद्यार्थीको भिसा लाग्यो । पोस्ट–ग्र्याजुयटमा ३१ जनाले भिसा पाए । ६ महिनाको अवधिमा २१ हजार ६ सय थियो भने कुल १४ हजार एक सय ३८ अर्थात् ६५ प्रतिशत भिसा पाए । जुलाई महिनाको विवरण अस्ट्रेलियन सरकारले वेबसाइटमा सार्वजनिक गरिसकेको छैन । उनीहरूसँग डिपेन्डेन्ट भिसामा जानेको संख्यासमेत छ ।

अ‍ेस्ट्रेलिया अध्ययनका लागि परामर्श दिने व्यवसायीहरूको संस्था ऐरीका अध्यक्ष द्विराज शर्माले अस्ट्रेलिया अध्ययनका लागि अहिले कागजातमा कडाइ गरेको बताए । कतिपय नेपाली विद्यार्थीको ‘स्तर’लाई लिएर आलोचना भएपछि अस्ट्रेलियन सरकारले कागजातमा कडाइ गरेको उनको भनाइ छ । ‘गत जुनयता भिसा रिजेक्सन बढेको छ । अहिले युनिभर्सिटीमा अध्ययन गर्न जानेको हकमा धेरैको भिसा लागे पनि भेट कोर्समा एकदमै न्यून मात्र भिसा लागेको छ,’ उनले भने, ‘भिसा सफलता दर कम भएपछि आवेदनसमेत कम हुन थालेको छ ।’

कोभिड– १९ को संक्रमण विश्वमा बढ्न थालेपछि अस्ट्रेलियाले सन् २०२० मा सीमानाका बन्द गरेको थियो । कोभिड महामारी रोकिएपछि गत डिसेम्भरबाट अन्तर्राष्ट्रिय विद्यार्थीलगायतका लागि सीमा खुला गरेको थियो । सीमा खुला भएसँगै आवेदन गर्ने अधिकांश नेपाली विद्यार्थीको भिसा लागेको थियो ।

समग्रमा एनओसी लिने घटे, तर अन्यत्रको तुलनामा अस्ट्रेलियामा अझै आकर्षण
अस्ट्रेलियामा विद्यार्थीको भिसा लाग्ने दर कम भएपछि शिक्षा मन्त्रालयबाट एनओसी लिनेको संख्यासमेत घटेको छ । तर, अन्यत्रको तुलनामा अस्ट्रेलिया अध्ययनकै लागि एनओसी लिनेको संख्या धेरै छ । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत साउनमा सबैभन्दा बढी झन्डै चार हजारले अस्ट्रेलिया अध्ययनका लागि एनओसी लगेका छन् । अस्ट्रेलिया अध्ययनका लागि एउटा विद्यार्थीले एकभन्दा बढी एनओसीसमेत लिने गरेका छन् । गत साउनमा अस्ट्रेलियाका लागि चार हजार एक सय तीन, बेलायतका लागि नौ सय २६, अमेरिकाका लागि सात सय ४३, क्यानडाका लागि ६ सय ४५ र कोरियाका लागि दुई सय ६३ ले एनओसी लगेका छन् । अस्ट्रेलियाको बोर्डर खुलेपछि एनओसी लिनेको संख्या निकै बढेको थियो । एकै दिनमा झन्डै १२ सयले एनओसी लगेका थिए । अहिले दैनिक तीन सयको हाराहारीमा एनओसी जारी भएका छन् ।

गत वर्ष पनि सबैभन्दा धेरै एनओसी अस्ट्रेलियाका लागि भएको थियो
०७८/७९ मा शिक्षा मन्त्रालयबाट कुल एक लाख १४ हजार चार सय २९ जनाले एनओसी लगेका थिए । यस वर्ष वैदेशिक अध्ययनमा जाने विद्यार्थी संख्या र बिदेसिएको रकमले नयाँ रेकर्ड बनाएको थियो । दुई वर्ष कोभिड– १९ का कारण प्रभावित बनेको वैदेशिक अध्ययन सहज भएपछि ०७८/७९ मा तेब्बरभन्दा बढीले एनओसी लगेका छन् । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार सोही वर्ष ६४ देशमा अध्ययनका लागि अनुमति लगेका छन् । १ साउन ०७८ देखि ०७९ असार मसान्तसम्ममा एक लाख १४ हजार चार सय २९ एनओसी जारी भएका छन् । ०७७/०७८ मा जम्मा २९ हजार चार सय ३२ एनओसी जारी भएका थिए ।

गत वर्ष पनि नेपाली विद्यार्थीको आकर्षणको मुख्य केन्द्र अस्ट्रेलिया बनेको थियो । कुल एनओसी जारी भएकामध्ये आधाभन्दा बढी अस्ट्रेलियामा अध्ययनका लागि थिए । ०७७/७८ मा भने धेरै नेपाली विद्यार्थी जापान गएका थिए । जापानका लागि आठ हजार एक सय ४६ र दोस्रो गन्तव्य अस्ट्रेलियाका लागि चार हजार आठ सय ४९ जना विद्यार्थीले एनओसी लिएका थिए ।

वैदेशिक अध्ययनमा सुरुमा प्रतिविद्यार्थी औसत १३ लाख खर्च
जापान र ओरिकाका लागि एनओसी लिएका ९९ प्रतिशतको भिसा लागेको छ । जापानको सिओई पाएपछि र अमेरिकामा भिसा आएपछि एनओसी लिन्छन् । क्यानडाका लागि ६३ प्रतिशतको भिसा लाग्ने गरेको परामर्श व्यवसायीको भनाइ छ । सुरुमा अध्ययन गर्न जानका लागि प्रतिविद्यार्थी औसतमा १३ लाख खर्च हुने गरेको छ । यो युनिभर्सिटी तथा कलेज शुल्कको औसत शुल्क हो । गत आर्थिक वर्षमा शिक्षाका लागि झन्डै ७० अर्ब रुपैयाँ बाहिरिएको थियो ।

अस्ट्रेलिया पढ्न जान चाहनेलाई सन्तोष प्याकुरेलका टिप्स

१. विश्वसनीय अंग्रेजी प्रवीणता परीक्षाको तयारी गर्ने र अब्बल अंक ल्याउने ।

२. अंग्रेजी तयारी गर्दादेखि नै वित्तीय कागजातको तयारीमा पनि अभिभावकलाई संलग्न गराउने ।

३. जागिरे अभिभावकले आफ्नो तलब खातामा आउने प्रमाणको रूपमा १२ महिनाको तलबको विवरण, १२ महिनाकै स्यालरी स्लिप, जागिर खाएको प्रमाणित कागजात, प्यान, कर तिरेको तीन वर्षको प्रमाणको कागजात संकलन गर्ने ।

४. व्यावसायिक आम्दानीका आधारमा आफ्ना छोराछोरीलाई विदेश अध्ययनमा पठाउन चाहने अभिभावकले व्यवसायको प्यान, कम्पनी दर्ताको कागजातमा नाम खुलेको कागजात, तीन वर्षसम्म कर तिरेको रसिद, एक वर्षसम्मको व्यावसायिक खाताको कारोबारको प्रमाण तयार गरी भिसा कागजातमा संलग्न गर्ने ।

५. घर–जग्गा बेचेर पढाउन पठाउने अभिभावकले लालपुर्जा, बेच्ने र किन्नेको विस्तृत विवरण, खाताबाट किनबेचमार्फत कारोबार गरिएको अद्यावधिक बैंक ट्रान्जेक्सन, मालपोत कार्यालयबाट मोठ श्रेस्ता प्रमाणित कागजातको विवरण सुरक्षित राख्ने ।

६. शैक्षिक कर्जाबाट पढ्न चाहने विद्यार्थीले धितोको स्पष्टता उल्लेख गरिएको तीन वर्षसम्म मालपोत तिरेको कागजलाई सुरक्षित रूपमा भिसा आवेदनका लागि संकलन गर्ने ।

७. आफू पढ्न जाने कोर्स, पहिला पढेको कोर्सअनुरूपको विषयसँग सम्बन्धित भएको हुनुपर्ने वा कार्य अनुभवको आधारमा छनोट गरिएको हुनुपर्ने ।

८. कलेज वा विश्वविद्यालय वा सहर छनोट क्षणिक उद्देश्यले प्रभावित नभई दीर्घकालीन उद्देश्य प्राप्तिका निम्ति हुनुपर्ने ।

९. अस्ट्रेलिया अध्ययनको स्पष्ट उद्देश्य र पढेर फर्कने प्रशस्त आधार तयार गरी स्टेटमेन्ट वा उद्देश्य लेख्न ध्यान दिने ।

१०. विश्वसनीय परामर्श र शैक्षिक परामर्शदाताको सहयोग लिने । साभार नयाँ पत्रिका दैनिकबाट

प्रकाशित मिति: ७ भाद्र २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्