ग्रीनकार्डसहित रोजगारी दिलाइदिने भन्दै ठगी गर्ने तीनजना पक्राउ


 


काठमाडौं, भाद्र १०
ग्रीनकार्डसहित विभिन्न देशमा रोजगारी दिलाइदिने भन्दै ठगी गर्ने तीनजना पक्राउ परेका छन् । प्रेसिडेन्टल इमिग्रेसन प्रालि कन्सलटेन्सीका सञ्चालक प्रविन राईसहित तीन जनालाई पक्राउ गरिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा संखुवासभाको सिलिचोङ गाउँपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्‍ने ३५ वर्षीय परविन राई, पश्‍चिम नवलपरासी नगरपालिका-३ परासी बजार घर भई काठमाडौ्को गोठाटार बस्‍ने ४६ वर्षीय ओमकार गुप्ता र इलाको सूर्योदय नगरपालिका-११ करफोक घर भई हाल बसुन्धारम बस्‍ने ३४ वर्षीय संजय तामाङ रहेका छन् ।

गुप्ता कन्सलटेन्सीका उपनिर्देशक हुन् । भने तामाङ कन्सलटेन्सीको उप निर्देशक भएको बताइएको छ । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार दिउँसो ४ बजे कन्सलटेन्सीबाटै पक्राउ गरेको हो ।

उनीहरुले क्यानडा, जापान, अमेरिका लगायत देशको ग्रिनकार्डसहित वैदेशिक रोजगारीमा पठाइदिने भनी करोडौं रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ। तर त्यसका लागि सम्बन्धित निकायबाट अनुमति नलिएको खुलेको छ। यसरी ठग्न सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा विज्ञापन गरेको पनि पाइएको छ।

अदक्ष कामदारको लागि अमेरिका जान इमिग्रेसन भिसा र ग्रिनकार्डको प्रक्रियाका लागि २ वर्ष समय लाग्ने र ५० लाख रुपैयाँसम्म खर्च लाग्ने भनि दर्जनौं पीडितहरुबाट करोडौं असुलेको प्रहरीले जनाएको छ । कन्सलटेन्सीबाट कागजात पनि नियन्त्रणमा लिई शिक्षा ऐन, २०२८ तथा ठगी सम्बन्धि कसुरमा कारबाही गर्न काठमाडौं परिसर पठाइएको बताइएको छ ।

प्रकाशित मिति: १० भाद्र २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्