एप्पलले ल्यायो आइफोन-१४ को नयाँ सिरिज, ४ मोडेलमा उपलब्ध


 


काठमाडौँ, भाद्र २३
ख्यातिप्राप्त टेक-ब्राण्ड एप्पलले आइफोन-१४ को नयाँ सिरिज सार्वजनिक गरेको छ ।

हिजो बुधबार राति अमेरिकी टेक कम्पनी एप्पलले आफ्ना नयाँ उत्पादनहरू सार्वजनिक गरेको हो । हरेक वर्ष सेप्टेम्बरमा नयाँ उत्पादनहरू सार्वजनिक गर्दै आइरहेको एप्पलले हिजो राति मात्रै चार मोडलका आइफोन सार्वजनिक गरेको छ । आइफोन-१४ को सिरिजका रूपमा कम्पनीले आइफोन-१४, आइफोन-१४ प्लस, आइफोन-१४ प्रो र आइफोन-१४ प्रो म्याक्स गरी चार नयाँ मोडेलका फोन बजारमा पठाउने उद्घोष गरेको हो ।

कम्पनीका अनुसार आइफोन-१३ कै डिजाइनमा बनेका ५-जी फोन आइफोन-१४ र आइफोन-१४ प्लस कालो, निलो, रातो, स्टारलाइट र बैजनी गरी पाँच रङमा उपलब्ध हुनेछन् ।

यिनको ब्याट्रीको क्वालिटी पहिलाको भन्दा राम्रो भएको कम्पनीको भनाइ छ। यिनमा १२ मेगापिक्सलका दुई क्यामरा छन् भने दुर्घटना भएको सूचना दिने क्र्यास डिटेक्सन फिचर पनि यसमा हालिएको छ । कम्पनीका अनुसार क्र्यास डिटेक्सन फिचरले जुनसुकै गाडीमा पनि काम गर्छ । दुर्घटना भएको सूचनासँगै यसले आपतकालीन कल गर्ने संकेतसमेत दिन्छ ।

यिनमा आपतकालीन समयका लागि ‘इमरजेन्सी एसओएस’ फिचर उपलब्ध छ जसले फोनमा सिग्नल नभएका बेला स्याटलाइटमार्फत् सन्देश पठाउने सुविधा दिनेछ । मोबाइलको एन्टेनाले स्याटलाइट फ्रिक्वेन्सीसँग कनेक्ट गर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार आकाश सफा भएका बेला यसले १५ सेकेन्डमै सन्देश पठाउन सक्छ ।

के फरक छ आइफोन-१४ र आइफोन-१४ प्लसमा ?

आइफोन-१४ को स्क्रिन आकार पहिलेकै जत्रो, ६.१ इन्चको छ भने आइफोन-१४ प्लसमा भने ०.६ इन्च बढाएर स्क्रिनको आकार ६.७ इन्च बनाइएको छ ।

यस्तै, आइफोन-१४मा पनि ब्याट्रीको क्वालिटी बढाइएको भए पनि आइफोन-१४ प्लसमा अहिलेसम्मका सबै आइफोनको तुलनामा सबभन्दा राम्रो ब्याट्री भएको कम्पनीले दाबी गरेको छ ।

कम्पनीले आइफोन-१४ को मूल्य ७९९ डलर र आइफोन-१४ प्लसको मूल्य ८९९ डलर तोकेको छ ।

आइफोन-१४ प्रो र आइफोन-१४ प्रो म्याक्समा आइफोन-१४ मा भएका सबै फिचर सँगसँगै अरू धेरै नयाँ फिचर पनि उपलब्ध छन् ।

यिनको डिस्प्ले सधैँ ‘अन’ हुने गरी बनाइएको छ । नचलाउँदा पनि यो ‘अफ’ हुँदैन । १४-प्रो र प्रो म्याक्समा कम्पनीले अहिलेसम्मकै धेरै क्षमताको ४८ मेगापिक्सलको मुख्य क्यामरा राखेको छ भने अन्य दुई क्यामरासहित यिनमा तीनवटा क्यामरा उपलब्ध छन् ।

यी मोडेलमा भने कालो, सिल्भर, गोल्ड र गाढा बैजनी गरी जम्मा चार रङ उपलब्ध छन् । यिनको चिपसेट आइफोन १४ र आइफोन १४ प्लसको भन्दा अझै परिस्कृत भएको कम्पनीले बताएको छ ।

के फरक छ आइफोन-१४ प्रो र आइफोन-१४ प्रो म्याक्समा ?

आइफोन-१४ प्रो को स्क्रिन आकार पहिलेकै जत्रो, ६.१ इन्चको छ भने आइफोन-१४ प्रो म्याक्समा भने ०.६ इन्च बढाएर स्क्रिनको आकार ६.७ इन्च बनाइएको छ ।

कम्पनीले आइफोन-१४ प्रोको मूल्य ९९९ डलर र प्रो म्याक्सको मूल्य १०९९ डलर तोकेको छ ।

आइफोन-१४ का नयाँ सिरिजका फोनहरूमा विशेषता के के छन् ?

कम्पनीका अनुसार यी नयाँ आइफोनहरूमा सेरामिक शिल्ड राखिएको छ जुन अरू फोनको भन्दा एकदमै बलियो छ । धेरैले आइफोनको मूल्य यसपटक बढ्ने अनुमान गरे पनि कम्पनीले पहिलेकै हाराहारीमा मूल्य तोकेको छ । उस्तै दाममा अझै गुणस्तरको फोन उपलब्ध गराएको कम्पनीको दाबी छ ।

त्यस्तै, अमेरिकाका लागि बनेका आइफोन-१४ का मोडलमा भने सिम कार्ड राख्ने ठाउँ राखिएको छैन । कम्पनीका अनुसार यसमा डिजिटल इ-सिम कार्ड हुने कम्पनीले बताएको छ । तर, अन्य देशमा पठाइने मोडलमा भने राख्ने-नराख्ने बारे कम्पनीले आधिकारिक जानकारी दिइसकेको छैन ।

कम्पनीले यसपालि आइफोनको मिनी संस्करण भने ल्याएको छैन ।

प्रकाशित मिति: २३ भाद्र २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्