नेपालमा कडाइपछि भारतबाट मानव तस्करी


 


काठमाडाैँ, भाद्र २७
नेपालमा भिजिट भिसामा विदेश जान कडाइ भएपछि भारत हुँदै विभिन्न देश पठाउन थालिएको छ । भारत हुँदै कम्बोडिया पुगेका तीन नेपालीलाई त्यहाँको अध्यागमनले शंका लागेपछि गत मंगलबार विमानस्थलबाटै फर्काइदिएपछि यसको रहस्य खुलेको हो ।

करिब तीन सातायता नेपालको विमानस्थलबाट भिजिट भिसाको सेटिङ भत्किएको छ । प्रहरीले कडाइ गरेपछि अध्यागमनले पनि शंकास्पदलाई फर्काउन थालेको छ । यस्तो अवस्थामा भारतका विभिन्न विमानस्थल प्रयोग गर्दै नेपालीहरू तेस्रो देश जान थालेका हुन् ।

गत मंगलबार कम्बोडियाबाट फर्काइएका तीनजना चिनियाँ कल सेन्टरमै काम गर्न एक गिरोहले पठाएको थियो । कम्बोडियामा धेरै नेपाली घुम्ने बहानामा काम खोज्न गएपछि त्यहाँको अध्यागमनले कडाइ गर्न थालेको छ । कम्बोडियाले नेपालीलाई ‘अन अराइभ’ भिसा दिन्छ । त्यही सुविधाको दुरुपयोग गरी मानव तस्करी भइरहेको हो । अन्य देश नघुमेका व्यक्तिलाई अन अराइभ भिसामा त्यहाँ कडाइ भएपछि सुरुमा दुबई लाने र त्यहाँ केही दिन राखेर कम्बोडिया लैजाने प्रवृत्तिसमेत देखिएको छ ।

गत बुधबार नेपाल फर्किएका महोत्तरीका मुकेश ठाकुरलाई पनि त्यसैगरी सुरुमा दुबईमा केही दिन राखेर कम्बोडिया पुर्‍याइएको थियो । आयुष मेनपावरका सञ्चालक उदीतनारायण साहले त्यसरी कम्बोडिया पठाएर बिक्री गरेको भन्दै उनले प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिएका छन् । साभार नयाँ पत्रिकाबाट

प्रकाशित मिति: २७ भाद्र २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्