भाैतिक मन्त्री राईद्वारा नेपालगन्ज–गुलरिया चार लेन सडक शिलान्यास


 


काठमाडाैँ, भाद्र २९
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले एक पछि अर्को योजनाको शिलान्यास गरिरहेका छन्।

तीन साता अघि नेपालगन्ज–राँझा सडक खण्ड असफाल्क प्रविधिबाट कालोपत्रे गर्न र नेपालगन्ज तथा कोहलपुरमा आकासे पुल निर्माणको शिलान्यास गरेका उनले बुधवार हुलाकी सडक अन्तरगत नेपालगन्ज–गुलरिया सडक स्तरोन्नतीको शिलान्यास गरेका हुन् । कुल ३५ किलोमिटर सडक अन्तरगत २२ किलोमिटर चार लेन र १० किलोमिटर दुई लेन सडक निर्माण गर्न मन्त्री राईले शिलान्यास गरेका हुन् ।

उनले सहर तथा बस्ती भएको २२ किलोमिटर सडक चार लेन र १० किलोमिटर सडक दुई लेन निर्माण गर्न टेण्डर आह्वान भइसकेको बताए । २६ असोजसम्म टेण्डर हाल्ने अन्तिम मिति भएको बताउँदै उनले यहि महिनाको अन्तिम साता भित्र ठेक्काको टुंगो लाग्ने स्पष्ट पारे । उनले भने, ‘कात्तिकदेखि निर्माणको काम सुरु भई तीन बर्षमा सकिने छ ।’

उनले हुलाकी सडक अन्तरगत नेपालगन्ज–सिधनियाघाट सडक पनि चार लेन निर्माण गर्न लागिएको बताए । उक्त सडकमा पनि बस्ती भएको ठाउँमा चार लेन र अन्य क्षेत्रमा दुई लेनको निर्माण हुने मन्त्री राईको भनाइ छ ।

सडक स्तरोन्नती शिलान्यास कार्यक्रममा बर्दिया क्षेत्र नं. १ बाट विजयी प्रतिनिधि सभा सदस्य संजय गौतमले सडक स्तरोन्नती भए नेपालगन्ज–गुलरिया आउजाउ गर्न सहज हुने बताए । उनले सडक जीर्ण भएका कारण नेपालगन्ज आउन सास्ती खेप्नु परेको बताउँदै नेपालगन्जसँग गुलरियालाई जोड्न सडकले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले जनसंख्या र सवारी साधनको चाँप बढेसँगै नेपालगन्ज–गुलरिया सडक साँघुरो भएकोले स्तरोन्नतीका लागि बजेट विनियोजन गरिएको बताए । उनले तीन बर्षभित्र सक्ने गरि टेण्डर आह्वान गरिएको जानकारी दिए ।

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले नेपालका अधिकांश जिल्ला सडक संजालसँग जोडिएको बताउँदै ९७५ किलोमिटर लामो हुलाकी सडक निर्माण पूरा भएसँगै स्तरोन्नतीको काम अगाडी बढाएको बताए । उनले नेपालमा एक हजार २४ किलोमिटर महेन्द्र राजमार्ग, १३ सय किलोमिटर मदन भण्डारी राजमार्ग, १७ सय किलोमिटर मध्य पहाडी राजमार्ग रहेको बताए ।

त्यसैगरी, हुलाकी राजमार्ग अन्तरगत ३१ वटा सहायक राजमार्ग र नेपालगन्ज–सुर्खेत जोड्ने रत्न राजमार्ग, पृथ्वी राजमार्ग पनि नेपालमा रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति: २९ भाद्र २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्