हिलारी हार्नुका यस्ता छन् कारण


 


hilari-clintonएजेन्सी, कार्तिक २४

राष्ट्रपति बाराक ओबामाले २००८ र २०१२ मा चुनाव लड्दा निर्माण गरेको गठबन्धन कायम गर्न नसक्दा हिलारी क्लिन्टनले चुनाव हारेको अमेरिकी टेलिभिजन केबल न्युज नेटवर्क (सिएनएन)ले विश्लेषण गरेको छ।

अफ्रिकन/अमेरिकन, ल्याटिनो र युवा समूहबाट ठूलो संख्यामा मतादाताहरू हिलारीलाई भोट दिन घरबाट नै निस्किएनन्।

चुनाव सकिन लाग्दासम्म पनि हिलारी पक्षधरहरू आशावादी नै थिए। तर, जब मत गणना सुरू भयो, नतिजा हिलारी पक्षधर, अमेरिकी राजनीतिक पण्डित र सञ्चारमाध्यमका लागि समेत अप्रत्यासित भयो। उनले जित्ने निश्चित मानिएको विस्कनसिन जस्तो राज्यमा समेत उनले ट्रम्पसँग हारिन्। यस्तै, पेन्सिलभेनिया र मिचेगन जस्ता राज्यमा पनि उनले हारेपछि उनको ह्वाइट हाउस जाने सपना तुहियो।

उनले लक्षित गरेका समुदायबाट उनलाई समर्थन प्राप्त भएको पनि हो। तर, ओबामाले पाएजति समर्थन भने हिलारीले पाइनन्। हिलारीले ८८ प्रतिशत अफ्रिकन–अमेरिकन समुदायको भोट प्राप्त गरिन्, तर उक्त मत सन् २०१२ मा ओबामाले पाएको मतभन्दा थोरै हो। ओबामाले अफ्रिकन÷अमेरिकन समुदायको ९३ प्रतिशत मत प्राप्त गरेका थिए। सन् २०१२ मा ओबामाले ७१ प्रतिशत ल्याटिनो मत प्राप्त गरेका थिए भने हिलारीले अहिले ६५ प्रतिशत मात्र मत प्राप्त गरेको सिएनएन एक्जिट पोलले देखाएको छ।

उनले १८ देखि २९ वर्ष उमेर समूहबाट ५४ प्रतिशत मात्र मत प्राप्त गर्न सकिन् जबकि ओबामाले उक्त समूहबाट ६० प्रतिशत मत प्राप्त गरेका थिए।

ओबामाले अहिलेको चुनावमा हिलारीलाई मत दिन अफ्रिकन–अमेरिकन र ल्याटिनो समुदायमा विशेष आग्रह गरेका थिए। तर, ती समुदायका धेरै मतदाताले ओबामाको आग्रह सुनेनन्।

अफ्रिकन–अमेरिकन समुदायबाट मतदान गर्नेको संख्या पनि यस वर्ष घट्यो। सन् २०१२ मा सम्पूर्ण मतदाताको १३ प्रतिशत अफ्रिकन–अमेरिकन थिए भने यस वर्ष उक्त संख्या १२ प्रतिशतमा झर्यो।

अमेरिकी गोराहरुको भोट पनि ओबामाको तुलनामा उनले कम प्राप्त गरिन्। सन् २०१२ मा ओबामाले ३९ प्रतिशत गोराहरुको मत प्राप्त गरेका थिए तर हिलारीले उक्त समुदायबाट ३७ प्रतिशत मात्र मत प्राप्त गर्न सफल रहिन्।

गोराहरूको मत पनि २०१२ को तुलनामा यस वर्ष खस्कियो। २०१२ मा कुल मतको ७२ प्रतिशत गोराहरू थिए भने यस वर्ष उक्त मतसंख्या ७० प्रतिशतमा झर्‍यो।

कुल मतदाताको ४ प्रतिशत ओगट्ने एसियनले पनि उनलाई कमै सहयोग गरे। ६५ प्रतिशत एसियनले हिलारीलाई मत दिए। सन् २०१२ मा ७३ प्रतिशत एसियनले ओबामालाई समर्थन गरेका थिए।

उनले ५४ प्रतिशत महिलाको मत प्राप्त गरिन् जबकि ओबामाले ५५ प्रतिशत महिलाको मत प्राप्त गरेका थिए। महिलालाई अपमान गरेको आरोप लागे पनि ४२ प्रतिशत महिलाले ट्रम्पलाई मत दिएका थिए।

ट्रम्प अमेरिकी राष्ट्रपति बने नेपालीलाई के हुन्छ ?

प्रकाशित मिति: २४ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्