महोत्तरीमा हिन्दू र मुस्लिम समुदायबीच झडप, प्रशासनद्वारा कर्फ्यु आदेश जारी


 


महोत्तरी, कार्तिक ११
महोत्तरीको भंगहा नगरपालिका-८ मा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ ।

हिन्दू सम्राट सेनाले शोभायात्रा निकालेको समयमा यात्रा मुस्लिम बस्तीमा पुगेपछि घरको छतबाट ढुंगामुढा भएपछि झडप सुरु भएको हो ।

हिंसा भड्किएसँगै प्रहरीले एक दर्जन राउन्ड हवाइ फायरसमेत गरेको छ। स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गर्नु परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

अहिले घटनास्थलमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। हिंसा भड्किएको महोत्तरीको भंगहा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।

भंगहा नगरपालिका वडा नम्बर – ८ को दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा ब्रह्मस्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिकाको वडा नम्बर १ मा पर्ने बगडाचोक, पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।

बिहीबार दिउँसो ३ बजेबाट लगाइएको कर्फ्यु अर्को आदेश जारी नभएसम्म जारी रहने छ ।

प्रकाशित मिति: ११ कार्तिक २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्