डाेनाल्ड जितकाे प्रभाव : एसियाका शेयरबजार प्रभावित


 


share-bazarवीवीसी, कार्तिक २५

एसियाका सबै क्षेत्रीय बजारको मूल्य घटेको छ र सुरक्षित मानिने स्टक, सुन र येन लगायतका केही मुद्रामा पैसा लगानी गरिएको छ।
जापानको निक्केई २२५ परिसूचक ५.४ प्रतिशतले घटेको छ भने बुधबार कारोबार शुरु भएपछि युरोप तथा अमेरिकाका बजारको मूल्य घट्ने अनुमान गरिएको छ।

लगानीकर्ताहरुले हिलरी क्लिन्टनले सजिलै जित्ने अनुमान गरेका थिए। ट्रम्पको जीतलाई केही विश्लेषकहरुले यसै वर्ष केही महिना अघि ब्रिटेनले गरेको युरोपेली संघबाट निस्किने निर्णयसंग दाँजेका छन् ।

तर जुन महिनामा भएको उक्त जनमतसंग्रह पछि बजार र मुद्राहरु जति धेरै घटेका थिए, त्यति अहिले छैनन् । बुधबार व्यापार बन्द हुने समय सम्ममा एसियाका केही बजारमा घाटाको मात्र घटिरहेको थियो।

हंगकंगको हांग सेंग २.२ प्रतिशतले घट्यो भने शांघाई कम्पोजिट ०.६ प्रतिशतले, अस्ट्रेलियाको एएसएक्स २०० १.९ प्रतिशतले, र दक्षिण कोरियाको कोस्पी २.७ प्रतिशतले घटेका छन्।

अमेरिकाको डाउ जोन्स परिसूचक ४ प्रतिशत भन्दा बढीले र लण्डनको फुट्सी परिसूचक ३ प्रतिशत भन्दा बढीले घट्ने अनुमान गरिएको छ।

बीबीसीकी एसिया व्यापार संवाददाता करिश्मा वास्वानी भन्छिन्, ट्रम्पले अमेरिकी अर्थतन्त्रलाई सुरक्षा दिने कुरा गरिरहने हुँदा उनको विजयले एसियाका अर्थतन्त्रहरुमा नकारात्मक असर पार्ने ठानिएको छ।

उनले चीनबाट आयातीत वस्तुमाथि कर लगाउने र विदेशमा काम पठाउने कम्पनीहरुलाई दण्डित गर्ने भनेका छन्। ती धम्की उनले पुरा गर्छन् कि गर्दैनन् र त्यस्ता नीति बनाउँछन् कि बनाउँदैनन् त्यो भविष्यले बताउनेछ।

तर लगानीकर्ताहरुले भने त्यो भन्दा अघि नै ट्रम्प राष्ट्रपति भएपछि एसियाका बजारमा पर्ने प्रभावको आँकलन गरिसके जस्तो छ र त्यो आँकलन सकारात्मक छैन।

अन्तर्राष्ट्रिय उथलपुथलका समयमा सुरक्षित रहने ठानिएको जापानको मुद्रा येनको भाउ डलरको तुलनामा ३ प्रतिशतले बढेको छ।
ट्रम्पको विजयको मेक्सिकोको अर्थतन्त्रमा पर्ने प्रभावको बारेमा चिन्ताका कारण मेक्सिकोको मुद्रा पेसो डलरको तुलनामा १३ प्रतिशतले घटेको छ, जुन दुई दशकयताको सबैभन्दा न्यून विन्दु हो।

ट्रम्पले मेक्सिकोसंगको व्यापार वार्तामाथि पुनविचार गर्ने र मेक्सिकोसंगको सिमानामा पर्खाल बनाउने भनेको हुनाले उनले जितेमा मेक्सिको अर्थतन्त्रमाथि नकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ । एकजना अर्थविद पल एशवर्थले ट्रम्पको जीतलाई ‘अनिश्चितता तर्फको कदम’ भनेका छन्।

प्रकाशित मिति: २५ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्