मलेसियामा १९ नेपाली बन्धक, उद्धार गर्न सरकारले थाल्यो पहल


 


काठमाडौं, पाैष २५
मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न सरकारले पहल सुरु गरेको छ ।

वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरू विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि सरकारले उनीहरूको उद्धारका लागि पहल सुरु गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझ्न र निजहरूलाई उद्धारका लागि पहल लिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो विषय गम्भीर भएकोले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्य सचिवमार्फत् निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । रोजगारीका क्रममा गत भदौ २३ गते मलेसिलया पुगेका उनीहरू ८ दिनदेखि बन्धक अवस्थामा छन् ।

बन्धक हुनेमा गोरखाको सहिदलखन गाउँपालिका–६ का ठाकुर रेग्मी, ७ का कमल श्रेष्ठ, भीमसेन थापा गाउँपालिका–७ का विष्णुप्रसाद ढकाल, टिकाराम गोतामे र सुजन गोतामे छन्। उनीहरूबाहेक उदयपुरका १, सप्तरीका १, मकवानपुरका ७, रौतहटका ३, भोजपुरका १ र बैतडीका १ जना छन्।

उनीहरू स्थानीय पालिका र जिल्ला प्रशासन कार्यालयले उद्धारका लागि पहल गरिदिए सहज हुने आशामा छन्। बन्धक भएका युवाहरूले तत्काल रिहाइको माग गर्दै सामाजिक सञ्जालमा हारगुहार गरिरहेका छन्।

प्रकाशित मिति: २५ पुस २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्