अख्तियारका पूर्वआयुक्त नै भ्रष्टाचारी ठहर


 


काठमाडौं, पाैष २९
विशेष अदालत काठमाडौंले ७८ लाख घुस प्रकरणमा मुछिएका अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकलाई दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय फैसला सुनाएको छ ।

विशेष अदालत अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले अख्तियारका पूर्वआयुक्त पाठक र नेपाल इन्जिनियरिङ कलेजका लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद र जनही ३९ लाख जरिमाना हुने फैसला सुनाएको हो ।

साथै, भ्रष्टाचार निवारण ऐनअनुसार तीन वर्ष र अख्तियारको बहालवाला आयुक्त भएकाले थप तीन महिना कैद गर्ने फैसला सुनाएको छ । पाठकले नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवादमा ७० लाखभन्दा धेरै घुस लिएको खुलासा भएपछि उनी विवादमा तानिएका थिए ।

सो प्रकरण बाहिरिएपछि पाठकले पदबाट राजीनामा दिएका थिए । पाठकले राजीनामा दिएपछि अख्तियारले उनीविरुद्ध घुस रिसवतमा अनुसन्धान गरी ७८ लाख रुपैयाँ बिगो दावीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो । साथै, आयोगले पाठकको हकमा ‘पदमा बहाल रहेकै अवस्थामा भ्रष्टाचार गरेको’ भन्दै थप सजाय मागसमेत गरेको थियो ।

२०५१ सालमा स्थापित नेपाल इन्जिनियरिङ कलेजमा लामो समयदेखि आर्थिक अनियमितता हुँदै आएको थियो । कलेज सञ्चालक समितिको मिलेमतोमा कर छली गर्ने र ठूलो रकम अपचलन भएपछि उजुरीकर्ताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका थिए ।

उजुरीकर्ताले संस्थापकहरू लम्बोदरकुमार न्यौपाने, रामरत्न उपाध्याय, उपेन्द्र गौतम, लवराज भट्टराई, सूर्यबहादुर केसी र तत्कालीन प्रिन्सिपल शोभाकान्त देव तथा भाइस प्रिन्सिपल तीर्थ निरौलालगायतले सामाजिक संस्थाका रूपमा दर्ता भएको कलेज निजीकरण गरेर बेच्न लागेको थाहा पाएपछि अख्तियारमा उजुरी दिएका थिए ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति: २९ पुस २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्