एक वर्षअघि भागेर विवाह गरेका जाेडीलाई परिवारलले छुटाएपछि राेजे आत्महत्याकाे बाटाे


 


झापा, माघ ११
झापाको कचनकवल गाउँपालिकामा एउटै पासो लगाई एक दम्पतीले झुन्डिएर आत्महत्या गरेका छन्।

कचनकवल गाउँपालिका–४ केचनाको खुट्टामुनि भन्ने ठाउँमा एभरेष्ट चिया बगानमा ती दम्पतीले झुन्डिएर आत्महत्या गरेका हुन् ।

कचनकवल–४ का २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशीको प्रेम कहानी सुखद् नरहेपछि आत्महत्याकाे बाटाे राेजेकाे बुझिएकाे छ ।

कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीका अनुसार राजेशकुमार र पवित्रा प्रेम सम्बन्धमा थिए। परिवारले बिहे नगरिदिने भएपछि उनीहरुले एक वर्षअघि भागी बिहे गरे।

केटीका परिवारलाई उनीहरूबीचको सम्बन्ध मन परेको थिएन। बिहेपछि पनि उनीहरुलाई परिवारले स्वीकारेन। केटीको परिवारले उनलाई मुद्दामामिला गर्न दबाब दिए। दबाबमा परेर उनले राजेशविरुद्ध प्रहरीमा उजुरी दिइन्। प्रहरीले मिलापत्र गराइदियो अलग–अलग बस्ने शर्तमा।

युवतीका अभिभावकले छोरी नाबालिग भएको भन्दै आफ्नो घर फर्काएको प्रहरीले बताएको छ। केटाविरुद्ध मुद्दा पर्दा साढे ६ लाख रुपैयाँमा मिलाइएको थियो। मुद्दापछि दुवै आ–आफ्नो घरमा बसेका थिए। तनको दूरी टाढा भए पनि उनीहरूबीचको मनको दूरी टाढा हुन सकेको रहेनछ। परिवार, समाज र कानुनले उनीहरूबीचको तनको दूरी बढाए पनि मनको मायाको पिरामिड थप चुलिँदै गएको थियो।

परिवार र समाजको आँखा छलेर सोमबार राति उनीहरूले भेटे। तर, आफूहरूको प्रेम विरोधी समाज र परिवारमा कहिले नफर्किने निर्णय गरेर अस्ताए। उनीहरूले माछा मार्ने नाइनलको जालको डोरी बनाएर र एउटै डोरीमा पासो लगाएर आत्महत्या गरे।

केटाले आफूबाट छुटेकी प्रेमिकाको लागि चाँदीका चुरा बनाएका थिए। ‘केटाको गोजीमा चाँदीको चुरा फेला परेको छ। सायद पवित्राको लागि बनाएर ल्याएको हुनुपर्छ। केटीले सिउँदोमा सिन्दूर भरेकी छन्। केटाको प्रेमको निसानी हुनुपर्छ। यस्तो अवस्थामा उनीहरूले एउटै डोरीमा पासो लगाएको पाइयो,’ गाउँपालिका अध्यक्ष राजवंशीले भने।

परिवारका मानिसले दुई आत्मालाई अलग नगरिदिएको भए उनीहरूको यस्तो दुखद् अन्त्य नहुने उनी बताउँछन्। परिवारका मानिसले मनोभाव बुझ्न नसकेकै कारण दुखद् घटना भएकाे राजवंशीले बताए।

प्रकाशित मिति: ११ माघ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्